काठमाडौं। भोटेकोशीमा बाढी गएको ७ दिन बितिसक्दा पनि विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारीको अवस्था अज्ञात छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा उद्धारका लागि आएका विदेशीले प्रयास जारी राखे पनि आयोजनाका कर्मचारी कुन अवस्थामा छन् भन्ने पत्ता लाग्न सकेको छैन।
सरकारले जलविद्युत् आयोजनामा फसेकाहरूलाई सेनाले एक्लै उद्धार गर्न नसक्ने भन्दै मंगलबार आयोजना प्रवर्धक कम्पनीलाई पनि गुहारेको छ।
नेपाली सुरक्षाकर्मीमा बाढीमा उद्धार गरेको अनुभव रहे पनि सुरुङभित्रबाट उद्धार गर्न पर्याप्त तालिम नभएको देखिएको छ। त्यस्तै, नयाँ प्रविधिसहितको स्रोत साधन नहुँदा पनि सुरक्षा निकायलाई उद्धारमा समस्या परेको छ।
विपद्को समयमा उद्धारका लागि सबैभन्दा धेरै खटिने तालिम प्राप्त सुरक्षा निकाय सशस्त्र प्रहरी बल हो। सशस्त्रले चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय नै चलाउँदै आएको छ।
गोताखोर तालिम र उद्धारमा सशस्त्र अब्बल देखिंदै आएको छ। २०७२ को भूकम्पमा सशस्त्रकै क्षमतामा धेरै मानिसको ज्यान जोगाइएको थियो। सुरुङभित्रको रेस्क्युमा भने खासै अनुभव नरहेको सशस्त्रकै प्रहरी अधिकृतहरू बताउँछन्।
‘बाढीले टनेलमा यसअघि खासै दुर्घटना नभएकाले पनि हुनसक्छ हामीसँग त्यसको अभ्यास कम छ। प्रविधि र स्रोत पनि छैन,’ सशस्त्रका एक उच्च प्रहरी अधिकृतले भने।
उद्धारको विषयमा सरकार अलमलिंदा यसपालि धेरै मानिस जोखिममा परेका छन्। भोटेकोशीमा भदौ १० गते आएको बाढीले तहसनहस पारेपछि सरकारले सुरुमा विदेशी सहायता लिन मानेन। आफूसँग दक्षता नभएको क्षेत्रमा विज्ञहरू झिकाउनुको साटो निषेध गर्ने रणनीति लिँदा सुरुङमा खोजी कार्य ढिला हुन पुग्यो।
आफ्नो ल्याकतले नभ्याएपछि भने विदेशी सहायता खोजियो। अहिले चीन, भारत लगायत देशबाट उद्धार टोली आएका छन्। सरकारको विदेशी विशेषज्ञहरूलाई समयमै आउन अनुमति नदिएको भन्दै जलविद्युत् आयोजनामा फसेका कर्मचारीका परिवारले चर्को विरोध गरिरहेका छन्।
२०७२ सालको भूकम्पमा काठमाडौंभित्र उद्धारको समन्वय गरेका सशस्त्र प्रहरीका तत्कालीन एसएसपी रामप्रकाश श्रेष्ठ अहिलेको बाढी भूकम्पभन्दा प्रलयकारी भएको बताउँछन्। भूकम्पमा भन्दा बाढीमा उद्धारको प्रक्रिया र शैली फरक भएको उनको बुझाइ छ।

‘मैले बुझे अनुसार अहिलेको घटनालाई लक्षित गरी सुरक्षा निकायलाई तालिम र स्रोत नै दिइएको देखिंदैन,’ पूर्वडीआइजी श्रेष्ठले भने, ‘देशमा जलविद्युत् आयोजनाको संख्या बढे पनि उद्धारका विषयमा सरोकारवाला कसैले पनि चासो दिएका थिएनन्।’
श्रेष्ठ २०७० मा विपद् व्यवस्थापन तालिम शिक्षालयमा कमान्डर थिए। तालिम केन्द्रको उनी दोस्रो कमान्डर हुन्।
भूकम्पमा भन्दा कसरी बढी प्रलय?
प्रभावित क्षेत्र जनसंख्या र भूगोल दुवै हिसाबले भूकम्पको समयभन्दा कम दायराको हो। रसुवा र नुवाकोटका केही पालिका मात्र यसपालिको प्रकोपमा प्रभावित छन्। धादिङका केही क्षेत्रमा मात्र असर परेको छ।
क्षेत्रका आधारमा कम भए पनि जनधनको क्षति भने अत्यधिक देखिएको छ। सशस्त्रका पूर्वडीआइजी श्रेष्ठले जनधनको क्षतिदेखि अन्य पक्ष हेर्दा भोटेकोशीको बाढीलाई अकल्पनीय र प्रलयकारीरुपमा लिएका छन्।
बाढीमा ज्यान गुमाउनेको संख्या करिब ११०० पुगेको छ भने ३ हजार ६०० जना भन्दा बढी अझै सम्पर्कविहीन छन्।
रसुवा भन्सार कार्यालय, टिमुरे बजार, स्याफ्रुबेसी, बेत्रावती, देवीघाट,त्रिशूली लगायत बजार बगरमा परिणत भएका छन्। १२ वटा हाइड्रोपावरमा गम्भीर क्षति पुगेको छ।
प्राकृतिक कारणमात्र क्षति नभएर सडक, सञ्चार र विद्युत् पूर्वाधारमा क्षतिका कारण पनि बाढी प्रलयकारी बन्न पुगेको छ। सडक टुट्दा ठाउँ-ठाउँमा ‘आइल्यान्ड’ जस्तो अवस्था छ। जसले गर्दा हेलिकोप्टरबाट मात्र उद्धार गर्नुपर्ने अवस्था छ।
२०७२ को भूकम्पमा केही स्थानमा सडक भासिए पनि तुलनात्मक रुपमा कमै क्षति पुगेको थियो। भूकम्पमा प्रभावित क्षेत्र, संरचना थाहा हुने अवस्था थियो। उद्धार कहाँ गर्ने भन्ने पहिचान हुन्थ्यो। अहिले त्यो अवस्था छैन।
‘माथिल्लो रसुवादेखि तल चितवनसम्म नै सुरक्षाकर्मीले खोज्नु परेको छ। कहाँ हो भन्ने नै छैन। त्यसैले गर्दा धेरै क्षेत्रमा सर्च गर्नु परेको छ,’ पूर्वडीआइजी श्रेष्ठले भने।
सुरक्षा निकायले जीवित मानिसको खोजी गर्न ‘लाइफ डिटेक्टर’ प्रयोग गर्छ। भूकम्पमा परेको कुनै पनि भवन वा घरभित्रको संरचनामा यसखाले प्रविधिले परिणाम निकाल्न सक्थ्यो। तर, अहिले खोजी नै कहाँ गर्ने भन्ने अन्योल छ।
सबैतिर बगर बनेको छ। फेरि ‘लाइफ डिटेक्टर’ले मानिस जीवित भएको अवस्थामा मात्र सिग्नल दिने गर्छ।
भूकम्पमा संरचना भत्किँदा भ्याकुम क्रिएट (ठाउँ खाली) हुने सम्भावना बढी हुन्छ। जसले गर्दा सुरक्षा निकायले त्यस्ता ठाउँमा भएका मानिसलाई अक्सिजन, पानी तथा खानेकुरा पठाएर भग्नावशेष हटाउन सक्थ्यो। र, जीवितै उद्धार गर्ने सम्भावना धेरै रहन्थ्यो। तर, लेदोसहितको २०० मिटरसम्म बाक्लो बाढीमा परेकाहरूलाई उद्धार गर्न असम्भव रहेको प्रहरी अधिकृतहरू बताउँछन्।
‘बाढी अरु प्रकोपभन्दा फरक हुन्छ। त्यसैले यसमा जीवित उद्धारको सम्भावना कम नै देखिन्छ,’ श्रेष्ठले भने।
सुरक्षा निकायले एक सातादेखि खोजी गर्दा जीवित भेटिएका मानिसको सङ्ख्या कम छ। सेना, सशस्त्र र नेपाल प्रहरीको तालिम प्राप्त कुकुर पनि खोजीका लागि प्रयोग गरिएको छ।

प्रहरीले सबैभन्दा धेरै शव चितवनमा फेला पारेको छ। रसुवाबाट पानीको तीव्र बहावले बगाउँदा शव सग्लो छैनन्। भूकम्पमा सग्लो शव भेटिएका थिए।
‘तर, बाढीमा धेरै परसम्म बगाउँदा पहिचान र सग्लो भेटिने हुँदैन,’ लामो समय रेस्क्युमा खटिएका अधिकृतले भने।
उद्धारमा संयोजनको कमी
सुरुङमा भएको उद्धारमा सुरक्षाकर्मीले मात्रै परिणाम निकाल्न सक्दैनन्। टनेल वा पावर हाउसको संरचना कस्तो छ, इनलेट र आउलेटको अवस्था, त्यसको स्ट्रक्चरल संरचना सम्बन्धित आयोजनाका प्रमुख र त्यससँग जोडिएका प्राविधिकलाई मात्र जानकारी हुन्छ।
उनीहरूको साथ नलिई गरिने अपरेसन प्रभावकारी हुँदैन। अहिले सामाजिक सञ्चालमा भाइरल भइरहेका भिडियोमा भारतीय उद्धारकर्मीले ‘पानी कहाँबाट आइरहेको छ भनेर’ सोधेको सुन्न सकिन्छ। त्यसको जवाफसँगै खटिएका सेनाले मात्र दिन सक्दैनन्।
नेपालमा टनेल रेस्क्यु यो पहिलो पटक हो। टनेल भासिएर भित्र फसेकालाई भने समयमा रेस्क्यु गरिएको छ। दोर्दी खोलामा २०७८ सालमा हिलो निकालिएको थियो। त्यतिखेर दोर्दीखोलाको टनेल मुखमा ट्रक आएर छेकेकाले बच्यो। टनेलमा त्यतिखेर मानिस परेनन्।
जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपाने पानी र लेदोको कारण रेस्क्युमा मुस्किल भएको बताउँछन्।
‘पानी र लेदो भेटिएको छ। यो बाहिर निकाल्न निकै मुश्किल भइरहेको छ। ४ दिनदेखि लगातार हामी काममा खटेका छौं,’ उनले भने।