काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले भोटकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारलाई १३ करोड १ रुपैयाँ सहयोग गरेको छ।
इप्पानले आफ्ना सदस्यहरुबाट संकलन गरेर १३ करोड १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले मंगलबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
इप्पानले आफ्ना सदस्यबाट ५० हजारदेखि १ करोड ६५ लाख रुपैयाँसम्म उठाएको छ। बाढीका कारण सञ्चालनमा रहेका ८ वटा र निर्माणाधीन ४ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका छन्। जसका कारण ४३१ मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ।
जलविद्युत आयोजनाका इन्जिनियर, प्राविधिकहरु ठूलो संख्यामा बेपत्ता छन्। इप्पानले ऊर्जा उद्यमीहरु नै पीडादायी अवस्थाबाट गुज्रिरहे पनि बाढीमा घाइते भएकाहरूको घाउमा मलम लगाउने मानवीय दायित्वबाट पछि हट्न नसकेर सहयोग गरेको बताएको छ।
‘विपद्को समयमा निजी क्षेत्रका आफ्नै विद्युत आयोजना बगेर ठूलो क्षति भएको अवस्थामा पनि हामीले आफ्नो पीडालाई केही समयका लागि बिर्सेर अझ ठूलो पीडामा रहेका नागरिकको उद्धार र पुनर्स्स्थापनामा सहयोग गर्ने निर्णय गरेका हौं। राष्ट्रमाथि संकट परेको बेला सरकारसँग सहकार्य गर्नु निजी क्षेत्रको दायित्व हो। यस्तो विपद्मा सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न इप्पान तयार छ,’ इप्पानका अध्यक्ष डाँगीले भने।