BIZMANDU
www.bizmandu.com

गृहमन्त्री सुधनले भने- उद्धार र राहतमा सम्पूर्ण शक्ति लगाएका छौं, लेदोका कारण समस्या

२०८३ भदौ १६

गृहमन्त्री सुधनले भने- उद्धार र राहतमा सम्पूर्ण शक्ति लगाएका छौं, लेदोका कारण समस्या
गृहमन्त्री सुधनले भने- उद्धार र राहतमा सम्पूर्ण शक्ति लगाएका छौं, लेदोका कारण समस्या


काठमाडौं। गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावितको उद्धार र राहतका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचान गरेको बताएका छन्।

Vigo
GBIME
Tata

उनले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म कल्पनै नगरेको बाढी आएको र दल दलका कारण उद्धारमा समस्या भएको बताए।

‘दल दल (लेदो)का कारण पनि उद्धारमा समस्या भएको हो। दल दलमा स्काभेटर लैजान सकिंदैन, फस्छ। यस्तो अवस्थामा पनि सुरक्षाकर्मीले काम गरिरहेका छन्,’ उनले भने।

सुधनले उद्धार र राहतमा सक्दो प्रयास गरिरहेको भन्दै कुनै ठाउँमा पुग्न नसकेको स्थिति भए माफी चाहने बताए। उनले सरकारले स्थानीय तहसँग मिलेर नै राहत वितरणको काम गरिरहेको दाबी गरे।

‘हामीले आफूले सक्ने काम गरेका छौं। सडक नभएका कारण हामीसँग उद्धार र राहतमा हेलिकोप्टरको विकल्प थिएन। हामीले सबै हेलिकोप्टर प्रयोग गरेका छौं। उद्धार र राहतमा भए भरको संयन्त्र प्रयोग गरेका छौं। नेपालको इतिहासमा यति धेरै हेलिकोप्टर सायद यसअघि उडान गरिएको थिएन होला। कतै पुग्न नसकेको भए माफी चाहन्छौं। हामी नपुगेको कुनै ठाउँ भए जानकारी गराइदिनुहोला,’ उनले भने, ‘राहत वितरणमा स्थानीय तहसँग मिलेर काम गरिरहेका छौं। कतिपय ठाउँमा स्थानीय जनप्रतिनिधि नै बाढीमा परेका कारण समस्या भएको हो।’

प्राधिकरणले बाढी प्रभावितहरुको उद्धार र राहतका लागि स्थानीय तहमा ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावितहरुको उद्धार र राहतको काम पैसाका कारण प्रभावित नहुने बताए। उनका अनुसार बाढी प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाले हालसम्म ६१० उडान गरेको छ। अझै ३९१६ जना सम्पर्कविहीन छन्।