काठमाडौं। एभरेस्ट महिला भलिबल लिग स्थगित भएको छ। लिगका तर्फबाट मंगलबार विज्ञप्ति जारी गर्दै तेस्रो संस्करणको महिला भलिबल लिग स्थगित भएको जनाएको हो।
‘भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण उत्पन्न भएको गम्भीर मानवीय संकट र जनधनको क्षतिप्रति हामी गहिरो दु:ख व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस दु:खद परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै एभरेस्ट महिला भलिबल लिग स्थगित गर्ने निर्णय लिएका छौं।’
अघिल्लो संस्करणमा पनि यो लिग आधा सञ्चालन भएर रोकिएको थियो। त्यसबेला पोखरामा लिग चलिरहँदा जेन्जी आन्दोलन भएको थियो। विभिन्न टिमका खेलाडी बसेकै होटलमा आगजनी हुँदा प्रतियोगिता स्थगित भएको थियो।
यस संस्करणको लिग भने अक्टोबर १ देखि १० सम्म त्रिपुरेश्वरस्थित कभर्ड हलमा गर्ने तयारी थियो। भोटेकोशीमा आएको बाढीले अहिले देश नै संकटको स्थितिमा छ।
