काठमाडौं। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। निजी आवास, सरकारी भवन र सडक पूर्वाधारमा गरी करिब ३४ अर्ब रुपैयाँको सम्पत्ति क्षति भएको हो। यसमा जलविद्युत आयोजना तथा विभिन्न व्यवसायमा भएको क्षति समावेश छैन।
पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगले गरेको प्रारम्भिक अध्ययन अनुसार सरकारी र निजी गरी ७ हजार ५७० घर तथा भवन डुबानमा परेका छन्। तीमध्ये १२५३ घर कोल्याप्स भएका छन्। बाँकी ६ हजार ३१७ घरमा भने आंशिक क्षति पुगेको छ।
रसुवामा ५५७ र नुवाकोटमा ६९२ घर कोल्याप्स भएका हुन्। सरकारी भवन र निजी घर नष्ट हुँदा १२ अर्ब ५३ करोड रुपैयाँको क्षति भएको छ। यस्तै सडक र पुलमा २१ अर्ब १५ करोड रुपैयाँको क्षति भएको अनुमान रहेको सरकारी अधिकारीले बताएका छन्।
भवन विकास तथा निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराका अनुसार बाढीले घरबारविहीन भएकाहरुलाई अस्थायी आवास बनाउन ९० करोड र स्थायी घर बनाउन करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
बोहराले स्थायी आवास निर्माणका लागि सरकारले ७ लाख रुपैयाँसम्म अनुदान दिनसक्ने बताए। ‘स्थायी घर बनाउन पहिलो प्राथमिकता जग्गा हो। बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा जग्गा खोज्न आवश्यक छ,’ उनले भने।
सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार भोटेकोशी नदीमा आएको बाढीले सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ।
गल्छी-बेत्रावती ४० किलोमिटर सडकको धेरै ठाउँमा वास-आउट भएको छ। पृथ्वी राजमार्गमा परेवाभीर र कृष्णभीरमा क्षति पुगेको छ। गल्छीमा सडकको लेदो हटाइएको छ। त्रिशुलीबाट बेत्रावतीतर्फ ६ किलोमिटर सडक खोलिएको छ।
विभागले ५० जना प्राविधिकलाई फिल्डमा परिचालन गरेको छ। यो सडक तत्काल सञ्चालनमा ल्याउन ३ करोड २५ लाख बजेट छुट्याएर काम गरिरहेको जैशीले जानकारी दिए।
उनका अनुसार भोटेकोशी र त्रिशूली नदीमा ३१ वटा पुल बगाएको छ। त्यसमध्ये देवीघाट, त्रिशुली बजार र बेत्रावतीमा तत्कालै बेलीब्रिज हाल्न काम अगाडि बढाइएको छ।
जैशीका अनुसार बाढीले क्षतिग्रस्त सडक पूर्वाधार बनाउन अब ५० अर्ब रुपैयाँ लाग्नेछ।
विभागले काठमाडौंको लाइफलाइनका रुपमा रहेको पृथ्वी राजमार्ग कृष्णभीरमा भित्तो काटेर सडक खुलाउने विकल्पमा छलफल भइरहेको बताएको छ।
विभागका महानिर्देशक जैशीले मंगलबार पत्रकार सम्मेलन गरी भित्तो काटेर सडक खुलाउने विषयमा मन्त्रालयका अधिकारीहरुसँग छलफल गरिरहेको जानकारी दिएका हुन्।

‘कृष्णभीरको सडक खुलाउनका लागि भित्तो काटेर बाटो बनाउने विकल्पमा जिओटेक्निकल सोसाइटी, एक्सपर्ट र मन्त्रालयका अधिकारीसँग छलफल भइरहेको छ। यस विषयमा भोलिसम्म निर्णय हुन्छ,’ उनले भने।
त्रिशूली नदीमा आइतबार बिहान आएको बाढीले कटान गरेर कृष्णभीरको सडक खसेपछि पृथ्वी राजमार्ग बन्द छ। जसका कारण अहिले काठमाडौं आउन कान्ति लोकपथ र त्रिभुवन राजपथ प्रयोग गरिएको छ।
महानिर्देशक जैशीका अनुसार फिस्लिङ र पेग्ली क्षेत्रको बीचमा डेढ किलोमिटर नयाँ ट्र्याक खोल्ने काम सुरु गरिएको छ। यस्तै माथिल्लो बाटोबाट गोरखा हुँदै पोखरा जोड्ने विकल्प पनि रहेको जैशीले बताए।
उनले कृष्णभीरको सडक नखुलेसम्म ग्यास बुलेट र इन्धनका सवारीसाधन कान्ति लोकपथबाट ल्याउने तथा हल्का सवारीसाधन त्रिभुवन राजपथबाट पास गराउने गरी योजना बनाइएको जानकारी दिए।
‘ग्यास र पेट्रोलियम पदार्थका सवारीसाधन हेटौंडाबाट राति ९-१० बजेपछि मात्रै गुडाउने र राति नै ल्याउने व्यवस्था मिलाउने कुरा भइरहेको छ। बाटोमा अवरोध हटाउन विभिन्न ठाउँमा १५ वटाभन्दा बढी ठूला हेभी इक्विपमेन्ट प्रयोग गरिएको छ।आवश्यकताअनुसार थप उपकरण पनि परिचालन गरिनेछ,’ उनले भने।