BIZMANDU
www.bizmandu.com

धितो राखेको घरजग्गा बाढीमा गुमाउनेको ऋण र ब्याज मिनाहा गरिनुपर्छ : सुरकृष्ण वैद्य

२०८३ भदौ १६

धितो राखेको घरजग्गा बाढीमा गुमाउनेको ऋण र ब्याज मिनाहा गरिनुपर्छ : सुरकृष्ण वैद्य
धितो राखेको घरजग्गा बाढीमा गुमाउनेको ऋण र ब्याज मिनाहा गरिनुपर्छ : सुरकृष्ण वैद्य


विराटनगर। व्यवसायीहरुले भोटेकोशीको बाढीले क्षति बेहोरेकाहरुलाई बैंक ऋण, ब्याज मिनाहादेखि सबै प्रकारका राहत र सुविधा दिन माग गरेका छन्।

Vigo
GBIME
Tata

उनीहरुले मंगलबार मोरङ उद्योग व्यापार संघको ६९औं साधारण सभामा क्षति बेहोरेकाहरुलाई व्यवसायमा फर्काउन सरकारले सबै किसिमको सुविधा दिनुपर्ने बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले जेनजी आन्दोलनमा भएको क्षतिबाट उठ्न नपाउँदै अकल्पनीय विपत्तिको सामना गर्नुपरेको भन्दै सरकारले सहुलियत दिनुपर्ने बताए।

‘यसअघि २०७२ सालमा भूकम्प आउँदा कम से कम ठाउँ ठेगाना थियो। भत्किएका भए पनि घर र पसल थिए। तर आज केही छैन। ठाउँ पनि छैन र ठेगाना पनि। यस्ता व्यवसायी छन् जसको आज केही नै छैन,’ वैद्यले भने, ‘व्यवसायीका पसल र गोदामका सबै सामान बाढीले बगायो। व्यवसायका अभिलेख राखिएका खातापाता सबै बगे।व्यवसायीले बैंकमा धितो राखेका खेतबारी सबै बाढीले लग्यो। जो बाँचेका छन् उनीहरूसँग आज एक्लो ज्यान मात्र छ, अरू केही छैन।’

उनले धितो राखेका घरजग्गा सबै बगाएका व्यवसायीको बैंक ऋण, ब्याज सबै मिनाहा गरेर उनीहरुलाई व्यवसायमा फर्काउन सरकारले सहयोग गर्नुपर्ने बताए।

‘व्यवसायीको अवस्था र क्षति हेरेर वर्गीकरण गर्नुपर्छ। अनि क्षति र अवस्थाअनुसार कसैको बैंक ऋण पुनर्तालिकीकरण गर्न सकिन्छ। कसैलाई ब्याज मिनाहा गर्न सकिन्छ। धितो नै बगाएकाहरूको सम्पूर्ण साँवा र ब्याज नै मिनाहा गर्नुपर्छ। यसमा ढिला गर्नु हुँदैन,’ उनले भने। उनले बाढीका कारण २ हजारभन्दा बढी व्यवसायी विस्थापित भएको दाबी गरे।

वैद्यले बीमा गराएका व्यवसायीलाई इन्स्योरेन्स कम्पनीले तत्काल दाबी भुक्तानी गर्नुपर्नेमा जोड दिए।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले व्यावसायिक क्षेत्रलाई विकास र निर्माणको साझेदारका रूपमा स्वीकार गर्न आग्रह गरे।

राठीले बाढी प्रभावितका लागि संघका तर्फबाट मोरङका सहायक सीडीओ सरोज कोइरालालाई ४१ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

कार्यक्रममा एफएनसीसीआईका केन्द्रीय सदस्य एवम् व्यापार समितिका सभापति नवीन रिजालले राज्यले निजी क्षेत्रले पुर्‍याइरहेको योगदानको मूल्यांकन गर्नुपर्ने बताए।

‘सरकारले निजी क्षेत्रबिना राहत संभव छ कि छैन भन्ने विषयमा सोचोस्। हामी पहिले सामाजिक व्यक्ति हौं अनि मात्र व्यवसायी,’ उनले भने।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले व्यवसायीलाई फौजदारी दृष्टिले हेर्न बन्द गर्न सरकारसँग आग्रह गरे।