काठमाडौं। प्रतिनिधि सभाको बैठक बुधबार बस्ने तय भएको छ।
कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले बुधबार १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
सभामुख डीपी अर्यालले भोटेकोशी नदीमा आएको बाढीले जनधनको ठूलो क्षति भएपछि प्रतिनिधि सभाको बैठक भदौ १० गते अनिश्चितकालका लागि स्थगित गरेका थिए। त्यसदिन परराष्ट्रमन्त्री शिशिर खनालले बाढीबारे संसद्लाई जानकारी गराएका थिए।
बुधबारको बैठकमा सभामुख अर्यालले शोक प्रस्ताव पेस गर्ने र दलका नेताहरुले बोल्ने कार्यसूची तय भएको छ। बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव राख्ने सूची स्वीकृत गरिएको छ।
बैठक भाद्र १७ र १८ गते दुवै दिन चल्ने जनाइएको छ। त्यसपछि ३ दिन सार्वजनिक विदा छ। त्यसपछि २२ गतेबाट सदन फेरि चल्नेछ।