काठमाडौं । एक साताभन्दा बढी भयो केरुङ-रसुवा हुँदै आएको बाढीले देश शोकमग्न बनेको छ। इतिहासकै सर्वाधिक शक्तिशाली बाढीमा गणना भएको यो विपदमा मृत्यु हुनेको संख्या एक हजार पुग्न लागेको छ। बेपत्ताको संख्या ४ हजार माथि छ।
विपदको दिन जति बढ्दैछ त्यति नै बढ्दैछन् मृतक र वेपत्ताको संख्या। र, काठमाडौंको टिचिङ अस्पतालमा हरेक दिन थपिँदैछ नयाँ नयाँ तस्वीरहरु।

बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा ठूलो जनधनको क्षति पुर्याएको छ। सरकारले उद्धार र राहतमा ढिलाई गर्दा आफन्तहरु आक्रोशित बनिरहेका छन्।
काठमाडौंमा भएका र उपत्यका बाहिरबाट मानिसहरु आफ्ना छोरा, छोरी, बुबा, आमा सँगै बाढीमा हराएका आफन्तहरु खोज्दै हरेक दिन राजधानीको टिचिङ अस्पताल पुगिरहेका छन्।
विदेशबाट पनि मानिसहरु आएर आफन्तका तस्विरहरु टिचिङको भित्तामा टाँसिरहेका छन्। नेपाल र विदेशीहरुको तस्वीर मुनि उनीहरुको नाम र सम्पर्क नम्बर लेखिएको छ। बेपत्ता आफन्तको खबरको आशमा हरेक दिन टिचिङ पुग्नेहरु पनि छन्।


त्यस्तै, सरकारले बाढी क्षेत्रबाट धेरैको शव पनि संकलन गरिरहेको छ। उनीहरुको तस्विर पनि त्यहीँ भित्तामा टाँसिएको छ।


















