काठमाडौं । हेटौँडा-काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।
स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै आउनुपर्ने जनाएको छ।
त्यस्तै, काठमाडौंबाट हेटौँडा जाने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै जानुपर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं आउँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको छ।
नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास प्रशासनको छ।