BIZMANDU
www.bizmandu.com

बाढी प्रभावित बैंकका प्रमुख कार्यकारीहरुसँग गभर्नरको छलफल, ‘१० अर्ब ऋण संकटमा छ’

२०८३ भदौ १५

बाढी प्रभावित बैंकका प्रमुख कार्यकारीहरुसँग गभर्नरको छलफल, ‘१० अर्ब ऋण संकटमा छ’
बाढी प्रभावित बैंकका प्रमुख कार्यकारीहरुसँग गभर्नरको छलफल, ‘१० अर्ब ऋण संकटमा छ’


काठमाडौं। रसुवा बाढीका कारण बैंकिङ क्षेत्रमा परेको असर बुझ्न नेपाल राष्ट्र बैंकका गभर्नरले प्रभावित बैंकरहरुसँग सोमबार छलफल गरेका छन्।

Vigo
GBIME
Tata

गभर्नर डा. विश्वनाथ पौडेलसहित डेपुटी गभर्नरहरु किरण पण्डित र दीर्घबहादुर रावलले सामूहिक रुपमा प्रभावित बैंकरहरुसँग कुराकानी गरेका हुन्। 

‘क्षति कस्तो छ? सेवा सुविधा के भइरहेको छ? सेवा नियमित गर्न कसरी सकिएला?’ राष्ट्र बैंक गभर्नरसहितको टोलीले राखेको चासो उदृत गर्दै एक बैंकरले भने, ‘नियामकका हिसाबले हालचाल बुझ्न बोलाउनु भएको रहेछ।’

बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालासहितको टोली थियो। छलफलमा बाढीबाट प्रभावित भएका कुल १२ वटा बैंकका प्रमुख कार्यकारी अधिकृतहरु थिए।

रसुवा बाढीले केरुङ, टिमुरे, स्याफ्रुबेशीं, वेत्रावति, मैलुङ, देविघाट र त्रिशुलीमा रहेका बैंकहरुका १६ वटा शाखा कार्यालयहरु बगाएको छ।

गभर्नरसहितको टोलीसँग छलफलमा प्रभावित बैंक कृषि विकास बैंकका गोविन्द गुरुङ, सिटिजन्सका गणेशराज पोखरेल, ग्लोबल आइएमइका सुरेन्द्र रेग्मी, हिमालयनका अशोक राणा, लक्ष्मी सनराइजका अजय बिक्रम राणा, माछापुच्छ्रेका कोइराला, नबिलका मनोज ज्ञवाली, एनआइसी एसियाका सुजित शाक्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ज्योतिप्रकाश पाण्डे, एनएमबिका गोविन्द घिमिरे, प्रभुका सुमन शर्मा र सानिमाका पवन आचार्य सहभागी थिए।

यी बैंकहरुको साढे दुई अर्बको ऋण त्यस क्षेत्रमा छ भने चार अर्ब बराबरको निक्षेप संकलन छ। करिव १५ करोड रुपैयाँ भल्टबाट बगाएको छ। पछिल्लो विवरण अनुसार, त्यस क्षेत्रमा बैंकहरुले सर्वसाधारणलाई साढे दुई अर्ब र जलविद्युतहरुलाई सात अर्ब ऋण प्रवाह गरेका छन्। निक्षेपसँगै ऋण लगानी संकटमा परेको बिषयमा पनि छलफल भएको थियो।

छलफलमा बैंकरहरुले आफ्नो शाखाहरुको अवस्थाका बारेमा बताएका थिए। उनीहरुले कर्मचारीको अवस्था, उद्धार तथा राहतका बारेमा पनि जानकारी गराएका थिए।

‘केही माग्न वा केही दिनका लागि छलफल भएको होइन। नियामकका हिसाबले उहाँहरुले अभिभावकत्व देखाउन खोज्नु भएको हो’ ती बैंकरले भने।