काठमाडौं। डेढ महिनाअघि कोदारी क्षेत्रमा भत्किएको सडक मर्मतपछि तातोपानी नाका सञ्चालन गर्ने तयारी भइरहँदा उत्तरी छिमेकी चीनले अकस्मात बन्द गरेको छ।
चीनले अर्को सूचना नभएसम्मका लागि भन्दै नाका अनिश्चितकालका लागि बन्द गरेको हो। चिनियाँ अधिकारीले सोमबार तातोपानी भन्सार कार्यालयमा इमेल पठाएर नाका अर्को सूचना नभएसम्मका लागि नखोल्ने बताएका छन्।
तातोपानीका प्रमुख अधिकृत दीपेन्द्र प्रकाश गिरीले चीनले अस्थायीरुपमा नाका बन्द गरेको जानकारी दिए।
‘नाका बन्द गर्ने जानकारी हामीलाई इमेलमार्फत आएको छ। चिनियाँ पक्षले नाका किन बन्द गरेको र कहिलेसम्म बन्द गर्ने भन्ने केही खुलाएको छैन,’ प्रमुख भन्सार अधिकृत गिरीले भने, ‘अर्को सूचना नआएसम्म नाका बन्द गर्ने जानकारी दिएका छन्।’
गत साउन १ गतेदेखि तातोपानी नाकाबाट सामान भित्रिएको थिएन। कोदारी क्षेत्रको सडक भत्किएका कारण व्यवसायीले तातोपानीबाट सामान आयात नगरेकामा सडक केही दिनअघि मर्मत भइसकेको छ। सडक मर्मतपछि नेपाली पक्षले नाका खुलाउने तयारी गरिरहँदा भदौ १० गते भोटेकोशीमा बाढी आएपछि रोकिएको थियो।
भोटेकोशीको बाढीले मुख्य नाका रसुवागढी कोल्याप्स भएका कारण व्यापारीहरुले केरुङतर्फ रोकिएका सामान रुट डाइभर्ट गरेर तातोपानीतिरबाट ल्याउन पहल गरिरहँदा चीनले जानकारी गराएरै नाका बन्द गरेको छ। यसले अब चीनसँगको व्यापारका लागि कोरला नाकामा भर पर्नुपर्ने भएको छ।
‘अब तातोपानी नाकाबाट सामान आउँदैन। व्यवसायीले चीनबाट आयात गर्न अब कोरला नाका प्रयोग गर्नुको विकल्प छैन,’ भन्सार प्रमुख अधिकृत गिरीले भने।
तातोपानी नाकाबाट व्यवसायीहरुले सामान्य अवस्थामा दैनिक १० भन्दा बढी कन्टेनरमा सामान आयात गर्ने गरेका थिए। भन्सारमा अहिले जाँचपास गर्न बाँकी सामान खासै धेरै छैन।
चीनले २०७२ को भूकम्पदेखि नै तातोपानी नाकालाई प्राथमिकतामा राखेको छैन। जसका कारण तातोपानी नाकाको विकल्पमा चीनसँगको धेरै व्यापार रसुवागढी नाकाबाट हुने गरेको थियो। तर, भोटेकोशीको बाढीले रसुवागढी नाकाका साथै नेपालतर्फको सडक पूरै कोल्याप्स भएको छ।
त्यही कारण व्यापारीहरुले अब दसैंका लागि अर्डर गरेका सामान तातोपानी नाकाबाट ल्याउन खोजेका थिए। चीनले औपचारिकरुपमै नाका बन्द गरेपछि व्यवसायीहरु थप अप्ठेरोमा परेका छन्।
कोरला नाका व्यापारीहरुका लागि भरपर्दो विकल्प होइन। त्यो नाकाबाट सामान ल्याउन लागमो दूरीका कारण लागत धेरै पर्छ। साथै कोरलाबाट सामान आयात गर्न नेपालतर्फको सडक पूर्वाधार पनि भरपर्दो छैन।