काठमाडौं। सेयर बजारमा ४३.८९ अंकको पहिरो गएको छ। नेप्से परिसूचक सोमबार २५१३.४२ विन्दुमा आएको हो। बजारमा उत्पादन तथा प्रशोधन क्षेत्र बाहेकका सबै उपसमूहको सूचक घटेको छ।
जलविद्युत र निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आउँदा सिमेन्ट कम्पनीको बढेको छ। निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ५.०३ प्रतिशतले घटेको छ।
जलविद्युत उपसमूहको सूचक २.९४ प्रतिशतले ओरालो लागेको छ। भदौ १० गते रसुवामा आएको बाढीले एक दर्जनभन्दा बढी जलविद्युत आयोजना बगाउँदाको असर सेयर बजारमा देखिएको हो।
बजारमा २५३ कम्पनीको सेयर मूल्य घटेको छ। मैलुङ खोला जलवि्दयुत कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ११.७६ प्रतिशतले घटेको छ।
उत्पादनमूलक उपसमूहको सूचक भने ०.७० प्रतिशत बढेको छ। नेप्सेमा सूचीकृत ५ वटै सिमेन्ट कम्पनीको मूल्य बढेको छ। घोराही सिमेन्टको भाउ ७.५७ प्रतिशतले उकालो लागेको छ।
बजारमा २१ कम्पनीको मूल्य बढ्दा उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशतले उकालो लागेको छ।
बजारमा ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच हुँदा शिवम् सिमेन्टको सबैभन्दा धेरै २६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ।