काठमाडौं। नेपाली क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो।
मलेसियास्थित वाइएसडी ओभल स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। यही खेलबाट सन्दीप लामिछाने एकदिवसीय फर्म्याटको कप्तानमा पुनरागमन गरे।
सुरुवाती ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो। फैज अहमदले सर्वाधिक १५ रन बनाउँदा मोहम्मद वसीमले १३ रन बनाए।
बहराइनको ब्याटिङ धराशायी बनाउन नेपालका कप्तान सन्दीप लामिछानले आफ्नो स्पेल बलिङ गर्दै १४ रन दिएर ५ विकेट लिए। त्यस्तै, ललित राजवंशीले ३ विकेट लिँदा करण केसीले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले २१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। यसक्रममा अर्जुन कुमालले अविजित ३६ रन बनाउँदा रोहितकुमार पौडेल १९ रनमा अविजित रहे। त्यसअघि आशिफ शेखले १८ तथा देव खनालले १० रन बनाए।
अब, नेपालले अर्को खेलमा भदौ १८ गते यही समयमा मलेसियासँग खेल्नेछ। १० टोली सहभागी यो प्रतियोगिता जित्न सके नेपालले एसिया कप खेल्ने अवसर पाउनेछ।