BIZMANDU
www.bizmandu.com

एसिया कप पुग्न मैदान उत्रँदै फेरिएको नेपाल, आज बहराइनसँग भिड्ने, कस्तो छ तयारी?

२०८३ भदौ १५

एसिया कप पुग्न मैदान उत्रँदै फेरिएको नेपाल, आज बहराइनसँग भिड्ने, कस्तो छ तयारी?
एसिया कप पुग्न मैदान उत्रँदै फेरिएको नेपाल, आज बहराइनसँग भिड्ने, कस्तो छ तयारी?


काठमाडौं। नेपाली क्रिकेट टोलीले दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यका साथ आज मैदान उत्रँदैछ। मलेसियामा आइतबारबाट सुरु भएको एसीसी प्रिमियर कपमा नेपाल आफ्नो पहिलो खेलमा मैदान उत्रन लागेको हो।

Vigo
GBIME
Tata

पहिलो खेलमा नेपाल आज बहराइनविरुद्ध भिड्ने छ। यो खेल बिहान सवा ७ बजे सुरु हुनेछ। यो प्रतियोगितामा च्याम्पियन बन्न सके दोस्रो पटक नेपाल एसिया कपको मैदान उत्रन पाउनेछ।

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै सन् २०२३ को एसिया कप नेपालले खेलेको थियो। नेपालले खेलेको यो एउटै एसिया कप हो।

त्यसपछिका संस्करणमा भने नेपालले प्रिमियर कप पार गर्नै सकेन। यसपाला फेरि च्याम्पियन बन्दै एसिया कप पुग्ने अभियानमा नेपाल जुटेको छ।

एसिया कपमा नेपाल र भारतबीचको खेल। तस्बिर: एसीसी

प्रिमियर कप पार गर्नु नेपालका लागि त्यति सहज भने हुनेछैन। नेपालसँगै १० वटा देश एसिया कप पुग्ने लक्ष्य लिएर मैदानमा हुनेछन्। यी देशलाई दुईवटा समूहमा बाँडिएको छ।

समूह ‘ए’मा नेपालसँग बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’मा यूएई, ओमन, कुवेत, कतार र सिंगापुर छन्।

यीमध्ये दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। यो होडमा नेपाललाई सेमिफाइनल पुग्न खासै अफ्ठेरो पर्ने देखिँदैन। तर, सेमिफाइनलमा भने अर्को समूहबाट सम्भवत यूएई र ओमन आउने बलियो सम्भावना छ।

यसअर्थमा नेपाललाई सेमिफाइनल र फाइनलले धेरै अर्थ राख्छ। यो होडमा रहेका टोलीमध्ये यूएई, ओमन, नेपाल र हङकङ उपाधिको बलियो दाबेदार हुन्।

यो प्रतियोगिताको च्याम्पियन एसिया कप पुग्दा शीर्ष तीन टोलीलाई एसीसी इमर्जिङ एसिया कप खेल्ने अर्को अवसर हुनेछ। यसअघिको संस्करणमा नेपाल चौथो बन्दा एसिया कप र इमर्जिङ एसिया कप दुवै गुमाएको थियो।

कस्तो छ नेपालको तयारी?

नेपाली टोली यहाँबाट गएपछि भारतमा हप्तादिन बिताएर अभ्यास खेलहरू खेलेको थियो। यसपाला नेपाली टोलीमा परिवर्तन धेरै छ।

पहिलो त लामो समययता रोहित पौडेलको कप्तानीमा खेलिरहेको नेपाली टोलीको कप्तान फेरि एकपटक सन्दीप लामिछाने बनेका छन्। रोहितले पहिला टी-२० र पछि एकदिवसीय दुवै फर्म्याटमा कप्तानी गुमाएका छन्। जिम्मेवारी कम भएसँगै खस्कँदो व्यक्तिगत प्रदर्शनलाई उकास्ने अवसर रोहितलाई छ।

रोहित पौडेल र सन्दीप लामिछाने

त्यस्तै, नियमित नेपाली टोलीबाट खेल्दै आएका कुशल भुर्तेल, सोमपाल कामी, भीम सार्की, नन्दन यादवजस्ता खेलाडी यसपाला टोलीमा छैनन्। यसपाला नेपालको ओपनिङबाटै परिवर्तन सुरु हुन्छ।

आशिफ शेखसँग अर्जुन कुमालले ओपनिङमा आफूलाई स्थापित गर्ने अवसर पाउन सक्छन्। त्यस्तै, राष्ट्रिय टोलीमा ‘इन-आउट’ भइरहने देव खनालले पनि भीम सार्कीको स्थान ‘क्लेम’ गर्न सक्छन्।

खनालजस्तै अर्का पूर्व यू-१९ कप्तान हेमन्त धामी पनि पेस बलिङको जिम्मेवारीमा छन्। उनलाई पनि राष्ट्रिय टोलीमा स्थान सुरक्षित गर्ने उच्च प्रदर्शनको दबाब छ।

स्पीन बलिङमा भने सन्दीप लामिछाने र ललित राजवंशीसहित एनपीएलमा मिस्ट्री स्पिनरका रुपमा बलियो प्रभाव छाडेका शेर मल्ल रहनेछन्। उनीहरुलाई दीपेन्द्रसिंह ऐरी, बसीर अहमद, देव खनाल लगायतले पनि सहयोग गर्न सक्छन्।

यसरी हेर्दा नेपाली टोलीमा पेसरको कमी भए पनि स्पीनर अट्याकमा नेपाल निकै बलियो छ।

शेर मल्ल। तस्बिर: क्यान

यो प्रतियोगितामा सहभागी नेपाल, ओमन र यूएईमात्रै एकदिवसीय मान्यताप्राप्त टोली हुन्। यीमध्ये ओमन १६ औँ स्थानको टोली हो भने नेपाल १८ औँ र यूएई १९ औँ स्थानको टोली हो।

यी तीनै टोली एकदिवसीय मान्यता जोगाउन संघर्षरत टोली हुन्। लिग-२ मा खराब प्रदर्शन गर्ने क्रममा ८ टोलीमध्ये यी तीनको पोजिसन र लय ठीक छैन।

यी मध्ये ठीकठाक स्थितिमा रहेको ओमनले २८ खेल खेल्दा १४ जितको सहायतामा ३१ अंकसहित चौथो स्थानमा छ। तर, पछिल्ला ५ खेलमा उसले एउटा खेलमात्रै जितेको छ।

नेपाल र यूएई त निकै चुनौतीपूर्ण स्थितिमा छन्। नेपालले ३२ खेल खेल्दा मात्रै ११ जित निकालेर तालिकाको ७ औँ स्थानमा छ भने यूएई २८ खेलमा ८ जितसहित १८ अंक बनाउँदै तालिकाको पुछारमा छ।

ओमनलाई विश्वकपको ग्लोबल क्वालिफायर पुग्न तथा नेपाल र यूएईलाई एकदिवसीय मान्यता जोगाउन हम्मेहम्मे छ। यी तीनै टोलीले आफ्ना कप्तान फेरेका छन्।

यूएईलाई मोहम्मद वसीम, नेपालले रोहित पौडेल र ओमनले जतिन्दर सिंहलाई कप्तानबाट हटाएको छ।

लगातारको खराब प्रदर्शनबाट लय फर्काउने अवसर पनि यो प्रतियोगिता बन्न सक्छ। एसिया कप, इमर्जिङ एसिया कप पुग्ने अठोटसँगसँगै टोलीको लय फर्काएर एकदिवसीय मान्यतालाई कसैगरी जोगाउने चुनौती यी तीन शीर्ष एसियाली एसोसिएटलाई छ।

नेपालको समूह चरणको खेल

नेपाल भर्सेस बहराइन – भदौ १५ (बिहान ७ : १५)

नेपाल भर्सेस मलेसिया – भदौ १८ (बिहान ७ : १५)

नेपाल भर्सेस साउदी अरब – भदौ २१ (बिहान ७ : १५)

नेपाल भर्सेस हङकङ – भदौ २३ (बिहान ७ : १५)

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सुन्दीप जोरा, बसीर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललितराजवंशी, करण केसी, हेमन्त धामी