काठमाडौं। २०७१ चैत मसान्तमा ९४८ अंकमा रहेको सेयर बजार वैशाख मसान्तमा ९३८ अंकमा आयो। २०७२ वैशाख १२ गतेको भूकम्पले ९ हजारभन्दा बढीले ज्यान गुमाउनुका साथै ८ लाखभन्दा बढी निजी आवास र ठूवो संख्यामा सार्वजनिक संरचना संरचना तहसनहस भएका थिए।
भूकम्पले पुर्याएको क्षतिकाबीच भारतले भदौ अन्तिमदेखि ६ महिनाभन्दा बढी समय नाकाबन्दी लगायो। यस्तो परिस्थितिमा पनि सेयर बजारमा असर परेन। नेप्से सूचक एक वर्षमै ५४३ अंकले बढ्यो। २०७३ वैशाख मसान्तमा नेप्से परिसूचक १४८१ विन्दुमा पुग्यो। जबकी त्यस वर्ष आर्थिक वृद्धिदर ०.४३ प्रतिशतमा सीमित थियो।
भूकम्प र नाकाबन्दीको ४ वर्षमै अर्थतन्त्रमै धक्का पुर्याउने अर्को विपद् आयो। सरकारले २०७६ चैत ११ गते कोभिडको फैलावट रोक्न लकडाउन सुरु गर्दा सेयर बजार १२५१ अंकमा थियो।
लकडाउनसँगै बजार लामो अवधि बन्द गरियो। तर, जब बजार खुल्यो, लगानीकर्ताको अनुमानभन्दा उल्टो दृश्य देखियो। विश्वभरी फैलिएको कोरोना महामारीले मानिसको जीवनसँगै आर्थिक गतिविधिमा गम्भीर क्षति पुर्याउँदा सेयर बजार उच्च गतिमा उकालो लाग्यो।
कोभिड पिकमा रहेको समय २०७८ असारमा नेप्से सूचक २८८३ विन्दुसम्म पुग्यो। उद्योगधन्दा, निर्माण क्षेत्रदेखि व्यापार व्यवसाय र रोजगारी ठप्प हुँदा सेयर बजार निरन्तर बुलिस बन्यो।
देशको अर्थतन्त्रको वृद्धि नै ऋणात्मक हुँदा २०७८ भदौ २ गते बजारले ३१९८ अंकको कीर्तिमानी बनायो। बजारको यो रेकर्ड अहिलेसम्म ब्रेक भएको छैन।
अर्थतन्त्र शिथिल अवस्थामै रहेकै बेला २०८२ मा अर्को संकट आयो। पोहोर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा झण्डै १ खर्ब रुपैयाँको सम्पत्ति क्षति भयो।
आन्दोलनअघि भदौ २२ गते २७०८ अंकमा रहेको सेयर बजार एक साता बन्द भएर खुलेकामा पहिलो दिन ११६ अंकले घट्यो। राजनीतिक अनिश्चय, व्यापारिक प्रतिष्ठानमा भएको लुटपाट, तोडफोड र आगजनीले लगानीकर्तामा त्रासको वातावरण सिर्जना हुँदाको असर बजारमा देखियो। तर, फागुन तेस्रो साता निर्वाचन भएपछि लगानीकर्तामा आशा जगायो। चैत १० गते नेप्से २९६० अंकमा फर्कियो।
एकपछि अर्को विपद् र जेनजी आन्दोलनबाट भएको क्षतिबाट नतंग्रिंदै भोटेकोशीमा भदौ १० गते आएको बाढीले अर्थतन्त्रमा फेरि अर्को धक्का लागेको छ।
रसुवा भन्सार नाका रहेको बजार कोल्याप्स भएको छ भने स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली लगायत बजार बगरमा परिणत भएका छन्। भोटेकोशी र त्रिशूली नदी माथिका तीन दर्जनभन्दा बढी पक्की पुल बगेका छन् भने एक दर्जनभन्दा बढी जलविद्युत आयोजना क्षतविक्षत भएका छन्। व्यवसायमा भएको क्षतिको हिसाबकिताव छैन। यसको तरंग सेयर बजारमा देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री बनेयता सरकारले गरेका धरपकडले त्रसित भएर लगानीकर्ताले कन्फिडेन्स गुमाएपछि नेप्से ओरालो लागिरहेका बेला भोटेकोशी बाढीको विपत्ति थपिएको छ।
बाढी आएको दिन बुधबार ३५.९२ अंकले घटेको नेप्से बिहीबार सम्हालियो। त्यसदिन १.०४ अंकले घटेको नेप्से अहिले २५५७ विन्दुमा छ।
बजारमा जलविद्युत् कम्पनी र निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा भने पहिरो गएको छ। बाढीका कारण जलविद्युत् आयोजनामा क्षति भएको र त्यसको दायित्व निर्जीवन बीमा कम्पनीले बेहोर्नुपर्ने भएकाले त्यसको असर सेयर मूल्यमा परेको हो।
विपद्ले अर्थतन्त्रमै धक्का पुर्याएकाका कारण बजारलाई जबरजस्त ‘पुस’ गर्ने दबाब भएकाले माग बढेर त्यसको असर अरु क्षेत्रमा पर्ने विश्लेषकहरू बताउँछन्।
‘एकाएक आएको विपत्तिले खर्ब रुपैयाँ बराबरको क्षति भएको छ। यसको पुनर्निर्माणका लागि अब अनप्लानिङ रुपमा सरकारको खर्च हुन्छ। त्यसले हाम्रो पछिल्लो ३ वर्षदेखि शिथिल बनेको माग र खर्चको संरचनामा बढाउनै पर्ने दबाब सिर्जना गर्नेछ,’ विश्लेषक अनलराज भट्टराईले भने, ‘स्वाभाविक माध्यमबाट अगाडि बढ्नुपर्ने अर्थतन्त्रका लागि यो दु:खद हो। तर, भूकम्पपछि पुनर्निर्माणले गति लिएजस्तै बाढीका करण भएको क्षतिपछि सबै क्षेत्रको खर्च बढाएर निर्माणमा जुट्दा चेन इफेक्ट पर्छ। बजारमा पछि त्यसको पनि सकारात्मक प्रभाव पर्छ नै।’
पछिल्लो ३ वर्षदेखि बजारमा माग छैन। जसले गर्दा बैंकले ५ प्रतिशतमै ऋण दिंदा समेत लगानी गर्न तयार हुनेहरू खासै देखिंदैनन्। ऋणको माग सुस्त भएकैले लगानीयोग्य १५ खर्ब रुपैयाँभन्दा धेरै रकम बैंकमा थुप्रिएको छ।
सेयर बजारका लागि बैंकको ब्याजदर र तरलता अनुकूल सूचक मानिए पनि समग्र अर्थतन्त्र शिथिल हुँदा त्यसको असर सूचीकृत कम्पनीमा पनि परेको छ।
तैपनि अब बाढीले क्षतिग्रस्त निजी आवास तथा जलविद्युत् आयोजना, सडक र पुल पुनर्निर्माणले गति लिएर माग बढ्ने र त्यसको प्रभाव बजारमा पर्नेमा ब्रोकरहरू आशावादी छन्।
‘बाढीका कारण प्रभावित जलविद्युत् आयोजना र त्यससँग सम्बन्धित केही कम्पनी बाहेक अरुमा अहिले खासै असर गर्ने देखिंदैन। तर, समग्र बजारले माथि जाने कुनै ट्रिगर प्वाइन्ट नपाइरहेको बेलामा अहिले नै बढ्छ भन्ने होइन,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेशकुमार अग्रवालले भने, ‘पुनर्निर्माणको काम अगाडि बढेपछि माग र लगानीकर्ताको मनोबल बढ्दा त्यसको सकारात्मक प्रभाव देखिहाल्छ।’