BIZMANDU
www.bizmandu.com

देश बाढीले तहसनहस बनेर शोकमा, फलफूल व्यापारी भने यही मौका छोपेर भाउ बढाउँदै

२०८३ भदौ १४

देश बाढीले तहसनहस बनेर शोकमा, फलफूल व्यापारी भने यही मौका छोपेर भाउ बढाउँदै
देश बाढीले तहसनहस बनेर शोकमा, फलफूल व्यापारी भने यही मौका छोपेर भाउ बढाउँदै


काठमाडौं। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले रसुवा र नुवाकोटमा कल्पना नै गर्न नसकिने क्षति भएको छ।

Vigo
GBIME
Tata

जनधनको ठूलो क्षतिले देश नै शोकमा रहेका बेला व्यापारीले भने कमाउनका लागि जथाभावीरुपमा स्याउको मूल्य बढाएका छन्।

आपूर्ति घटेको भन्दै व्यापारीले थोक बजारमा स्याउको मूल्य कार्टुनमै २ हजार रुपैयाँ भन्दा बढी बढाएका हुन्।

कुलेश्वर फलफूल बजारमा रहेको माँ फ्रुट सेन्टरका संचालक पप्पुकुमार साहले बाढी आएलगत्तै चिनियाँ फुजी स्याउको भाउ धेरै महँगिएको बताए।

‘हाल बजारमा स्याउको आपूर्ति कम भएको भन्दै भाउ बढेर आएको छ। पहिला २० किलो फुजी स्याउको मूल्य ४ हजार ४५०० रुपैयाँ रहेकामा अहिले ७ हजार रुपैयाँसम्म पर्न थालेको छ,‘ उनले भने।

फलफूल बिक्री गर्दै आएका एक व्यवसायीका अनुसार अहिले बजारमा बिक्री भइरहेको स्याउ पहिला नै आयात गरिएको हो।

‘कोल्ड स्टोरेजमा राखेको स्याउ ल्याएर बिक्री गरिएको छ। अहिले आयातकर्ताले पानीजहाजबाट ल्याउनुपरेको भन्दै भाउ जथाभावी बढाएका हुन्,’ उनले भने, ‘यस्तो विपद्का बेलामा समेत नाफा कमाउन खोज्नेलाई सरकारले हदैसम्मको कार्बाही गर्नुपर्छ।’

उनका अनुसार स्याउ किन्न होलसेल बजारमा जाने व्यापारीलाई चीनबाट ल्याउने बाटो बन्द छ, अब आउँदैन होला भन्दै महँगोमा बेचिएको छ।

‘न्यूनतम नैतिकता पनि नदेखाउनेलाई व्यापारी भनिँदैन। लुटेरा भन्नुपर्छ। तर हामीले नै महँगोमा किनेर ल्याएपछि त्यही अनुसार बेच्नैपर्‍यो। त्यही भएर मैले चिनियाँ स्याउ नै ल्याइन,’ ती बिक्रेताले भने।

साह पनि कुलेश्वरमा चिनियाँ स्याउको भाउ मात्रै बढेको तर भारतीय र नेपाली स्याउको मूल्य भने यथावत नै रहेको बताउँछन्।

उनका अनुसार भारतीय स्याउको भाउ किलोको २५० रुपैयाँ मात्रै छ भने जुम्लाको स्याउको भाउ २०० रुपैयाँ हाराहारी छ। साहले भारतबाट आयात हुने मेवा, अम्बादेखि अनारको भाउमा फेरबदल नभएको जानकारी दिए।

उनका अनुसार अनारको भाउ २० किलोको ९ हजारबाट ४५०० रुपैयाँमा झरेको छ। मेवा प्रति किलो १२० र अम्बा किलोको २०० रुपैयाँ छ।

त्यस्तै, कुलेश्वर बजारका व्यवसायी रुद्रप्रसाद पाठकले थोक बजारमा फलफूल पर्याप्त नभएकोले भाउ बढ्न थालेको बताए। ‘चिनियाँ स्याउको आपूर्ति कम भएर भाउ बढेको भनिएको छ,’ उनले भने।

तर, वानेश्वरमा अनलाइनमार्फत फलफूल बिक्री गर्दै आएका एक बिक्रेताका अनुसार कुलेश्वरका व्यवसायीले आपूर्ति कम भएको भन्दै आफूखुशी स्याउको भाउ बढाएका हुन्।

‘सरकारले अनुगमन गर्‍यो भने दूधको दूध पानीको पानी पत्ता लागिहाल्छ। फूलफूल बजारमा गएर बिलविजक हेरेर दोषीमाथि तत्कालै कार्बाही गर्नुपर्छ,’ उनले भने, ‘केही होलसेल व्यापारीले समग्र व्यापारीलाई नै बदनाम गर्दैछन्। यसमा व्यापारिक संस्थाले पनि हेरोस् भन्ने मेरो चाहना हो।’