काठमाडौं। एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराएका शनिबारबाट लागू हुने गरी सात दिन बढाएको हो।
‘हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं। यस कठिन समयमा आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।
एनसेलले बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि नै १ करोड रुपैयाँ सहयोग गरिसकेको छ।
कम्पनीले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ। प्रभावित अन्य ९ वटा टावर पुनः संचालनका लागि काम गरिरहेको एनसेलले जनाएको छ।