BIZMANDU
www.bizmandu.com

कांग्रेसले बाढी प्रभावितका लागि १ करोड दिने, विपद् कोषमा रकम जम्मा गर्न कार्यकर्तालाई आग्रह

२०८३ भदौ १४

कांग्रेसले बाढी प्रभावितका लागि १ करोड दिने, विपद् कोषमा रकम जम्मा गर्न कार्यकर्तालाई आग्रह
कांग्रेसले बाढी प्रभावितका लागि १ करोड दिने, विपद् कोषमा रकम जम्मा गर्न कार्यकर्तालाई आग्रह


काठमाडौं। कांग्रेसले बाढी प्रभावितहरुको सहयोगका लागि पार्टीको विपद् कोषमा पैसा जम्मा गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेको छ।

Vigo
GBIME
Tata

सभापति गगन थापाले आइतबार पार्टीका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको बैठक राखेर पार्टीका तहगत कार्य समिति, जनसम्पर्क समिति, भातृ संघ एवं शुभेक्छुक संस्था र पार्टीका सदस्यहरूलाई पार्टीको विपद् कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गर्ने निर्णय गरेका हुन्।

यसरी जम्मा भएको रकमसहित पार्टीको तर्फबाट एकमुष्ट रुपमा १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने कांग्रेसले बताएको छ।

कांग्रेसले संकटको घडीमा सरकारका साथै प्रतिपक्षी राजनीतिक दल, संघ-संस्था, निजी क्षेत्र र नागरिक समुदाय सबैको सम्पूर्ण ध्यान विपद् व्यवस्थापनमा केन्द्रीत हुनु पर्ने भन्दै नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरेका हरेक सकारात्मक प्रयासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘आवश्यक उपकरण, दक्ष जनशक्ति र प्रविधि तत्काल परिचालन गरी हवाई उद्धारलाई थप प्रभावकारी बनाइयोस्। रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस्। सुरुङमा उद्धारका लागि आवश्यकता अनुसार मित्र राष्ट्रबाट प्रविधि र दक्षतासहितको थप उद्धार टोली मगाएर तथा मित्र राष्ट्रसँग समन्वय गरी हेलिकोप्टर भाडामा लिएर भए पनि द्रुत गतिमा उद्धार गर्ने विशेष व्यवस्था गरियोस्,’ कांग्रेसले भनेको छ, ‘उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन यातायातको व्यवस्था गर्न, उद्धार गरिएका र हराएका एवं मृतकका परिवार, घाइते तथा ज्येष्ठ नागरिक, वालवालिका, गर्भवती-सुत्केरी,महिला र दीर्घरोग भएका व्यक्तिको सुरक्षा, संरक्षण, परामर्श र स्वास्थ्य सरसफाई एवं औषधी व्यबस्थापनमा विशेष ध्यान दिन विशेष आग्रह गर्दछ।’

बैठकमा रसुवाका सांसद मोहन आचार्य, संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नुवाकोटका पार्टी सभापति रमेश महत लगायतले प्रभावित क्षेत्रको वस्तुस्थिति बारेमा जानकारी गराएका थिए।

कांग्रेसले विपद् व्यवस्थापनमा स्थानीय सरकार र प्रदेशसँग समन्वय गर्न ध्यानाकर्षण गराएको छ।

‘विपद्‍मा स्थानीय सरकार अग्रभागमा रहने सरकार हो। स्थानीय सरकार जनताको नजिकको सरकार हो। स्थानीय समस्या नजिकबाट बुझेको सरकारमार्फत व्यवस्थापन गर्दा नै त्यो प्रभावकारी हुन्छ। अत: तत्काल तहगत सरकारको कार्यविभाजन गरी संघीय सरकारको नेतृत्वमा एकीकृत ढङ्गबाट तहगत सरकार, निजी क्षेत्र र समुदायको सहभागितामा उद्धार, पुनर्स्थापना र राहत वितरणको कार्य पारदर्शी र विश्वसनीय ढङ्गले गर्न आग्रह गर्दछ,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले एकद्वारको नाममा प्रशासनिक झण्झटमा अल्झिएर जोखिममा रहेका नागरिकलाई थप जोखिममा धकेल्ने अवस्था सिर्जना नगर्न र समन्यायिक ढङ्गबाट स्थानीय सरकारमार्फत वितरण गर्न ध्यानाकर्षण गराएको छ।

कांग्रेसले शव केही दिन संरक्षण गरेर परिवारलाई सनाखतको अवसर दिने व्यवस्था गर्ने उपाय खोज्न, मृतकप्रतिको सम्मान र परिवारले आफ्नो संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउने अधिकारलाई सम्मान गर्न पनि ध्यानाकर्षण गराएको छ।

कांग्रेसले विपद्‍ प्रभावित जिल्लाका नेता कार्यकर्तालाई उद्धार र राहत वितरणमा खटिन निर्देशन दिएको छ।