काठमाडौं। हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बैंकको आइतबार बसेको संचालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो।
प्रचण्डमान श्रेष्ठले बुधबार संचालक समिति र उच्च व्यवस्थापनलाई ईमेल लेख्दै अध्यक्षबाट राजीनामा दिएको जानकारी गराएका थिए। उनले राजीनामा दिएपछि अध्यक्षमा पूर्वमुख्यसचिव अर्याललाई ल्याउने मोटामोटी सहमति भइसकेको थियो।
बुधबार नै बसेको संचालक समिति बैठकमा भएको सहमतिलाई आइतबार निर्णय गरेर मूर्त रुप दिइएको हो। अर्याल अर्थ मन्त्रालयको सहसचिव, उद्योग, संचार तथा सूचना प्रविधि, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव र मुख्यसचिव भएर सेवा निवृत भएका थिए।
आर्थिक तथा वित्तीय क्षेत्रमा जानकार रहेका अर्याललाई अध्यक्षमा ल्याउँदा बैंकलाई सुदृढ बनाएर अघि बढाउन सकिने एक संचालकले बताए।
‘उहाँ अध्यक्षको रुपमा आउँदा बैंकको श्रीवृद्धि नै हुन्छ। बैंक संचालकहरूलाई समेत मिलाएर मध्यमार्गी बनाउन सक्ने क्षमता देखेकाले अध्यक्षको रुपमा ल्याइएको हो,’ ती संचालकले भने।