काठमाडौं। पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत मलेखु नजिकैको परेवाभिरमा सडक भत्किएको छ। प्रहरीका अनुसार १५ मिटरभन्दा बढी सडक भत्किएको हो।
‘खोलाले बिस्तारै बिस्तारै सडक खोक्रो पारेको रहेछ। त्यहीनेरको सडक बग्यो,’ जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काले बिजमाण्डूसँग भने।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्ली पाण्डेका अनुसार आइतबार आएको बाढीले परेवाभिरको सडक भत्काएको छ।
‘यसअघि पनि यही ठाउँमा पटक-पटक पहिरो गएर सडक अवरुद्ध हुने गरेको थियो। यो पटक भने तलबाट खोलाले सडक भत्काउन थालेको जानकारी आएको छ,’ उनले भने, ‘अहिलेसम्म सडकको बेस भत्काइसकेको सूचना प्राप्त भएको छ।’
उनका अनुसार धादिङको रोराङ गाउँपालिकाअन्तर्गत चरौदी पुल समेत बगाएको छ।
यसअघि कृष्णभिरको सडक भाँसिएपछि सवारी आवागमन रोकिएको थियो। सडक विभाग र प्रहरीले कृष्णभिरको सडक अध्ययन गरेर एकतर्फी रुपमा संचालनको सम्भावना हेर्दाहेर्दै यो सडक भत्किएको हो।
‘योसँगै वेनिघाटसम्मको वैकल्पिक मार्ग समेत अवरुद्ध भएको छ,’ ती अधिकृतले भने।