काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नाइमाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने जनाएको छ।
साथै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नाइमाले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। शोकसन्तप्त परिवारजनप्रति नाइमाले समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।
विपद्को सुरुवातदेखि नै नाइमाका सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोग लगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएका छन्।
नाइमाले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको अध्यक्ष ऋतु सिंह वैद्यले बताइन्।
‘यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो। यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुन:स्थापनालाई प्रभावकारी बनाउन सक्छ,’ उनले भनिन्।