BIZMANDU
www.bizmandu.com

विदुरमा रहेको सेनाको त्यो तालिम केन्द्र, जसले थामिरहेको छ सयौं बाढीपीडितको उद्धार

२०८३ भदौ १४

विदुरमा रहेको सेनाको त्यो तालिम केन्द्र, जसले थामिरहेको छ सयौं बाढीपीडितको उद्धार
विदुरमा रहेको सेनाको त्यो तालिम केन्द्र, जसले थामिरहेको छ सयौं बाढीपीडितको उद्धार


नुवाकोट। शुक्रबार बिहान करिब ११ बजे। रिपोर्टिङका क्रममा हामी नुवाकोटको विदुरस्थित नेपाली सेनाको श्री नं. १ तालिम केन्द्र पुग्दा सडकका दुवैतर्फ मानिसहरूको बाक्लो भीड थियो। सडक किनारमा उभिएका अधिकांशका आँखा भने तालिम केन्द्रभित्रको चौरमा अडिएका थिए।

Vigo
GBIME
Tata

कोही आँखाभरि आँसु लिएर चौरतिर हेरिरहेका थिए। कोही आफैं रोइरहेका थिए। कसैले रोइरहेका आफन्तलाई सम्हालिरहेका थिए। तर उनीहरू सबैको नजर एउटै ठाउँमा थियो – त्यही चौरमा।

आशा एउटै थियो – ‘हेलिकप्टरबाट आफ्नो मान्छे पो झर्छ कि!’

रसुवामा बाढीमा फसेका तथा उद्धार गरिएका मानिसलाई नेपाली सेनाले हेलिकप्टरमार्फत यही चौरमा ल्याइरहेको थियो। त्यसैले बुधबार बिहानदेखि सम्पर्कविहीन आफन्तको खोजीमा रहेका मानिसका लागि विदुरको यो चौर अहिले आशा र पीडाको संगम बनेको छ।

हरेक तीन–चार मिनेटमा हेलिकप्टर आउने र अर्को उड्ने क्रम चलिरहेको थियो। आकाशमा हेलिकप्टर देखिनासाथ सडक किनारमा प्रतीक्षारत मानिसहरू चौरतर्फ दौडिन्थे। हेलिकप्टर अवतरण गरेपछि सबैका आँखा त्यसैमा हुन्थे। कोही हेलिकप्टर नजिक पुगेर उद्धार गरिएका मानिसको अनुहार नियाल्थे, कोही टाढैबाट आफ्नो मान्छे खोज्थे।

कसैको अनुहारमा आफन्त भेटिने आशा देखिन्थ्यो। कसैको अनुहारमा लामो प्रतीक्षाको थकान र पीडा।

उद्धार गरिएका मानिसहरू हेलिकप्टरबाट बाहिर निकालिँदा भीड अझ बढ्थ्यो। ‘यिनैमध्ये आफ्नो मान्छे छन् कि?’ भन्ने आशाले उनीहरू एक–एक अनुहार नियाल्थे। कतिपयका लागि त्यो केही मिनेटको प्रतीक्षा घण्टौँजस्तै भइरहेको थियो। हिजो बिहानदेखि न फोनमा कुरा भएको थियो, न कुनै खबर आएको थियो।

तालिम केन्द्रको चौरमा केही हेलिकप्टर स्ट्यान्डबाइमा राखिएका थिए। उद्धारका लागि कतिखेर, कहाँबाट खबर आउँछ भन्ने निश्चित नहुने भएकाले हेलिकप्टर तयारी अवस्थामा राखिएको त्यहाँ खटिएका एक सैनिक जवानले बताए।

त्यहाँ हेलिकप्टरको आवाज मात्र थिएन, उद्धारको चटारो पनि उत्तिकै थियो। नेपाली सेनाका ठूलो संख्यामा सैनिक उद्धार तथा व्यवस्थापनमा परिचालित थिए। हेलिकप्टरबाट उद्धार गरिएका मानिसलाई बाहिर निकाल्नेदेखि अस्पताल वा प्राथमिक उपचारका लागि पठाउनेसम्मका काममा सैनिकहरू खटिएका थिए।

कोही स्ट्रेचर बोकेर दौडिरहेका थिए। कोही घाइते र बिरामीलाई सम्हालिरहेका थिए। कोही सडकमा सवारीसाधन व्यवस्थापन गरिरहेका थिए। कोही आफन्त हराएका परिवारका सदस्यबाट नाम टिपिरहेका थिए। क्याम्पमा बसेका बाढीपीडितको व्यवस्थापनदेखि आफन्तको प्रतीक्षामा बसेकालाई सम्झाउने, सान्त्वना दिने र उनीहरूको कुरा सुन्नेसम्मका काममा सैनिकहरू सक्रिय थिए।

चौरको एक कुनामा हेलिकप्टरको आवाज निरन्तर सुनिन्थ्यो। अर्को कुनामा स्ट्रेचर बोकेर दौडिरहेका सैनिक देखिन्थे। सडकतर्फ आफन्त खोज्दै चौरमा आँखा लगाइरहेका मानिस थिए। अस्पताल लैजानुपर्ने घाइते र बिरामीलाई लिएर सवारीसाधन हतारिँदै थिए।

घण्टौँदेखि आफन्तको प्रतीक्षामा बसेकाहरूका लागि खानेकुरा र पानीको व्यवस्था पनि सेनाले गरिरहेको थियो। उद्धारका लागि आवश्यक सामग्री काठमाडौंलगायत विभिन्न स्थानबाट सवारीसाधनमार्फत विदुरसम्म ल्याइँदै थियो।

उद्धार कार्यलाई निरन्तरता दिन सैनिकहरूलाई पालैपालो परिचालन गरिएको थियो। कोही ट्रकबाट सामग्री झारिरहेका थिए। कोही उद्धारका लागि आवश्यक इन्धनका ग्यालिन बोकेर दौडिरहेका थिए।

चौरको एक कुनामा हेलिकप्टरको आवाज निरन्तर सुनिन्थ्यो। अर्को कुनामा स्ट्रेचर बोकेर दौडिरहेका सैनिक देखिन्थे। सडकतर्फ आफन्त खोज्दै चौरमा आँखा लगाइरहेका मानिस थिए। अस्पताल लैजानुपर्ने घाइते र बिरामीलाई लिएर सवारीसाधन हतारिँदै थिए।

त्यहाँ चटारोबाहेक अरू केही देखिँदैनथ्यो।

त्यही चटारोबीच खटिएका एक सैनिक जवानले भने, “हामीले जनताको दुःखमा पर्दा काम गर्ने हो। हामी सक्नेजति गरिरहेका छौँ। तर यो अवस्था यति दर्दनाक छ कि चाहेर पनि धेरैलाई बचाउन गाह्रो भइरहेको छ। रसुवातिरको अवस्था निकै नाजुक छ। यहाँ निरन्तर उद्धारको काम भइरहेको छ। बाढीपीडितलाई आवश्यक सबै कुरा उपलब्ध गराउने प्रयास गरिरहेका छौँ।”

उनका अनुसार रसुवाबाट उद्धार गरेर ल्याइएका पीडितदेखि राहत तथा व्यवस्थापनका अधिकांश काम यही तालिम केन्द्रबाट भइरहेको छ।

फिल्डमा खटिएका टोलीसँग नियमित रूपमा सम्पर्क गरेर त्यहाँको अवस्थाबारे जानकारी लिने र त्यसअनुसार उद्धारलाई थप छिटो तथा प्रभावकारी बनाउने काम भइरहेको उनले बताए। माथिल्लो तहबाट आउने निर्देशनअनुसार उद्धार टोली परिचालित भइरहेको छ।

उनका अनुसार गृहमन्त्री सुदन गुरुङले पनि घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै उद्धारलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

‘गृहमन्त्रीज्यू आफैं हामी नेपालीमा हुँदा यस्ता घटनामा गर्नुभएको र भोग्नुभएको अनुभवबाट धेरै कुरा ब्रिफिङ गरेर जानुभएको छ। त्यहीअनुसार हाम्रो टिमले पनि सबै ठाउँमा काम गरिरहेको छ,’ उनले भने, ‘उद्धारका लागि अन्य धेरै संयुक्त सञ्चालन टोली तथा क्विक एक्सन टिम पनि परिचालित छन्।’

यही तालिम केन्द्र अहिले रसुवाको विपद्मा एउटा महत्वपूर्ण उद्धार केन्द्र बनेको छ। हजारौँ पीडितको उद्धारदेखि उनीहरूलाई अस्थायी क्याम्पमा राख्ने, खाना खुवाउने र बाटो पन्छाउन स्थानीयसँग समन्वय गर्नेसम्मका काम यहीँबाट भइरहेका छन्।

उद्धारमा नेपाली सेना मात्रै छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्याका सुरक्षाकर्मी पनि जमिनमा खटिएका छन्। आकाशमा हेलिकप्टरले उद्धार गरिरहेको छ भने जमिनमा सुरक्षाकर्मीहरू बाटो, बस्ती र प्रभावित क्षेत्रतर्फ दौडिरहेका छन्।

अहिले सरकारी तथा निजी गरी करिब दर्जन हेलिकप्टर उद्धारमा निरन्तर परिचालित छन्। तीनवटै सुरक्षा निकायका १३ हजारभन्दा बढी सुरक्षाकर्मी उद्धार तथा राहत व्यवस्थापनमा खटिएको बताइएको छ।

विदुरको त्यो चौरमा अझै हेलिकप्टरको आवाज सुनिन्छ। हरेकपटक आवाज आउँदा सडक किनारमा उभिएका मानिसका आँखा आकाशतिर उठ्छन्। हेलिकप्टर चौरमा झर्दा उनीहरू दौडिन्छन्।

विदुरकै स्थानीय प्रिन्स शर्माका लागि नेपाली सेनाको तालिम केन्द्र विपद्को यो घडीमा ठूलो भरोसा बनेको छ।

‘यो आर्मीको तालिम केन्द्र नभएको भए उद्धारको स्थिति झन् भयावह हुने थियो। सबै कुराका लागि काठमाडौंमै भर पर्नुपर्ने अवस्था आउँथ्यो। अहिले आर्मीको क्याम्पले धेरै कुरा थेगिरहेको छ,’ शर्माले भने, ‘हामीले स्थानीय क्लब हाउस, खाली भवन र स्कुलमा पीडितलाई राखेर खाना तथा मेडिकलको व्यवस्था गरिरहेका छौँ। विदुरमा आर्मी क्याम्प हुनु नै यो बाढीको समयमा सबैभन्दा ठूलो राहत हो।’

विदुरको त्यो चौरमा अझै हेलिकप्टरको आवाज सुनिन्छ। हरेकपटक आवाज आउँदा सडक किनारमा उभिएका मानिसका आँखा आकाशतिर उठ्छन्। हेलिकप्टर चौरमा झर्दा उनीहरू दौडिन्छन् र आफ्नो मान्छे ओर्लिन्छ कि भनेर हेरिरहन्छन्।