काठमाडौं। भोटेकोशी बाढीका कारण प्रभावितमध्ये हालसम्म १८४ जना पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएका बाहेक ३ जना पर्यटक अधिकारीहरूको सम्पर्कमा आएका छन् भने ४२० जना अझै सम्पर्कविहीन छन्।
बोर्डले शनिबार जनाएअनुसार उद्धार गरिएका पर्यटकहरूमा सबैभन्दा बढी भारतका ११४ जना छन्। यसैगरी चीनका २७, दक्षिण कोरियाका २०, जर्मनीका ४, माल्टाका ४, इटालीका ३, अमेरिकाका ३, रसियाका २, स्पेनका २, स्विट्जरल्यान्डका २, टर्कीका २ तथा बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका १–१ जना छन्। सम्पर्कमा आएका ३ जनामध्ये बेल्जियमका १ र स्पेनका २ जना छन्।
गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका बेला रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा रहेका पर्यटकहरू प्रभावित हुँदा सम्बद्ध मुलुकहरुले आफ्ना नागरिकका लागि चिन्ता व्यक्त गरिरहेका छन्। बोर्ड, पर्यटन मन्त्रालय, पर्यटक प्रहरी, सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त समन्वयमा बाँकी सम्पर्कविहीनहरूको खोज तथा उद्धार कार्य निरन्तर जारी राखिएको बोर्डले उल्लेख गरेको छ।
यसैबीच आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन विभिन्न देशका कूटनीतिक नियोगहरूले पनि अग्रसरता देखाएका छन्। नयाँ दिल्लीस्थित सिंगापुर उच्चायोगका प्रथम सचिव (राजनीतिक) अब्राहम तान र न्युजिल्यान्ड उच्चायोगका काउन्सिलर तथा काउन्सुल जेनी डु टोइटले शुक्रबार पर्यटन बोर्डका पदाधिकारीहरूसँग भेट गरी खोजी तथा उद्धारमा सहयोगका लागि आग्रह गरेका थिए। बोर्डले ती देशका नागरिकको खोजीमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ।
बाढीका कारण केही स्थानमा अवरुद्ध बनेको काठमाडौं-मुग्लिन सडक खण्ड हाल पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। रसुवा, नुवाकोट, धादिङ र गोरखाका केही प्रभावित क्षेत्रबाहेक अन्य स्थानको सडक सञ्जाल सामान्य अवस्थामा छ। बोर्डले यात्रामा निस्कनुअघि सडक तथा मौसमको स्थिति बुझ्न र आपतकालीन सहयोगका लागि टोल फ्री नम्बर १२३४, सरकारी नम्बर ११४४ वा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।