काठमाडौं। रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका कर्मचारी, प्राविधिक र सर्वसाधारणको उद्धारका लागि सरकारले प्रयास जारी राखेको छ।
शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको जनाइएको छ। टनेलभित्र मानिसहरू फसेको जानकारी आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।
सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र बल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।
उक्त क्षेत्रमा मौसम प्रतिकूल रहेकाले उद्धार प्रयास निकै चुनौतीपूर्ण बनेको छ।
यसैबीच, उद्धार सहायताका लागि आएको भारतीय टोली पनि त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।