काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले बेलग्रेड सम्मेलनका लागि आफ्नो पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन्। विनाशकारी बाढीको आकस्मिक घटनाका कारण उनले भ्रमण स्थगित गरेका हुन्।
असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई-लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन उनी आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। बेलग्रेडमा आगामी सोमबार र मंगलबार उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ।
मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी थियो। तर, रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्री खनालले सर्बिया भ्रमण स्थगन गरेका हुन्।
अब नेपालका तर्फबाट उक्त सम्मेलनमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ।
सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यो वर्ष बेलग्रेडमै उच्चस्तरीय स्मरणसभा हुन लागेको हो।