BIZMANDU
www.bizmandu.com

बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोड बराबरको राहत, ५०० अस्थायी आवास बनाइने

२०८३ भदौ १३

बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोड बराबरको राहत, ५०० अस्थायी आवास बनाइने
बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोड बराबरको राहत, ५०० अस्थायी आवास बनाइने


काठमाडौं। चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। तत्काल राहतदेखि अस्थायी आवास, स्थायी पुनर्निर्माण र दीर्घकालीन जनस्वास्थ्य पूर्वतयारीसम्मका कार्यक्रम सञ्चालन गर्ने घोषणा अध्यक्ष निर्वाण चौधरीले गरेका हुन्।

Vigo
GBIME
Tata

प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, तयार खाना, लत्ताकपडा, त्रिपाल, व्यक्तिगत सरसफाइका सामग्री, खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने चौधरीले जनाएका छन्। भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन थालिएको र कर्मचारीलाई स्थानीयस्तरमा परिचालन गरिएको नबिल बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ।

स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा राहत शिविर स्थापना गरिनेछ। शिविरमा प्रभावितलाई दैनिक भोजन, स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराइनेछ। धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर पनि सञ्चालन गरिनेछ। बालबालिकाका लागि सुरक्षित स्थानसमेत बनाइनेछ।

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ। सरकार तथा स्थानीय तहसँगको सहकार्यमा निर्माण गरिने ती आवासले स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित बसोबास उपलब्ध गराउनेछन्।

अस्थायी आवास भूकम्पपीडितका लागि चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रविधिमा आधारित हुने जनाइएको छ। दीर्घकालीन योजनाअन्तर्गत प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गरिनेछ।

त्यसैगरी, धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गरिने भएको छ। केन्द्रले रोगको निगरानी, पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना तथा विपद्पछि फैलिन सक्ने संक्रामक रोग व्यवस्थापनमा काम गर्नेछ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले आपत्कालीन राहतमा मात्र जिम्मेवारी सीमित नराख्ने बताएका छन्। ‘हाम्रो तत्कालीन प्राथमिकता जीवनको रक्षा गर्नु र प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु हो,’ उनले भनेका छन्।

फाउन्डेसन र बैंकले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग समन्वय गरी सबैभन्दा बढी प्रभावित परिवारसम्म सहायता पुर्‍याउने बताएका छन्। विपद्को अवस्थामा सरकारले गरेको सक्रिय पहलप्रति विज्ञप्तिमा आभार पनि व्यक्त गरिएको छ।