काठमाडौं। वसन्तबहादुर कुँवर २०७९ देखि २०८१ सम्म नेपाल प्रहरीको महानिरीक्षक रहे। दुई वर्ष कमान्ड सम्हाल्दा उनले प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउनुपर्ने भन्दै बारम्बार प्रस्ताव गरिरहे।
त्यतिखेर विभागीय मन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले उनको प्रस्तावलाई समर्थन गरे। विपद्मा हुनसक्ने जोखिम न्यूनीकरण र उद्धारका लागि हेलिकप्टर चाहिने प्रस्ताव प्रहरी प्रमुख कुँवरको थियो। गृहमन्त्री श्रेष्ठ उनको योजनामा सहमत भए। गृह मन्त्रालयबाट योजना अगाडि बढे पनि रेस्क्यु प्रयोजनका लागि हेलिकप्टर ल्याउने योजनाको फाइल कार्यान्वयनमा पुग्न भने दिइएन।
‘यहाँ विभिन्न इन्ट्रेस्ट ग्रुपहरू हुँदा रहेछन्। गृहमन्त्रीले चाहेर मात्र हेलिकप्टर र अन्य स्रोत र साधन जुट्ने रहेनछ,’ यसै साताको रसुवा-नुवाकोटमा भएको प्रकोप र उद्धारमा प्रहरीको जोरजामलाई नजिकबाट नियालेका पूर्वमहानिरीक्षक कुँवरले भने।
नेपाल-चीन सीमा क्षेत्रबाट ग्लेसियर फुटेर भोटेकोसी नदी अनियन्त्रित ढंगले उर्लेपछि ठूलो धनजनको क्षति भएको छ। उद्धारमा सुरक्षा निकाय सक्रिय भएर लागेको पनि छ। जनतासँग सोझै जोडिएका प्रहरी दिनरात नभनी खटिएका पनि छन्।
प्रहरीलाई उद्धारको लागि गुहार आउँछ। प्रहरी सडकबाट जान सक्ने अवस्था छैन। हेलिकप्टर नै आवश्यक पर्छ। तर प्रहरी आफैं हेलिका लागि गुहार लगाउनु पर्ने अवस्थामा छन्।

‘सिधै पीडित हामीसँग जोडिन्छन्। हामी पनि उडेर जान सक्दैनौँ,’ नुवाकोटमा खटिएका एक प्रहरी अधिकृतले सुनाए,’ हेलिकप्टर हाम्रो नियन्त्रणमा नहुँदा चाहेर पनि उद्धार गर्न सकेका छैनौं।’
पूर्व महानिरीक्षक कुँवर ती खटिएका प्रहरीसँग पर्याप्त स्रोत साधन नहुँदा सोचे अनुसारको काम हुन नसकेको स्वीकार्छन्।
गत बुधबारको भीषण बाढीको घटनामा परेर २० भन्दा धेरै प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। प्रहरी कार्यालय हिलो र लेदोसहितको बाढीमा बग्यो कि पुरियो यकिन भइसकेको छैन। अभाव र दवावको प्रभावबाट प्रहरी संगठन उत्रिन सकेको छैन।
गत वर्ष भदौ २३ र २४ को घटनामा प्रहरीसँग भएका उद्धारका ‘टुल्स’ आगजनीको सिकार भए। सुरक्षा दिने जिम्मेवारीमा बसेको प्रहरी आफैं मानिसक रुपमा कमजोर बन्यो उक्त घटनामा। त्यस्तै कमजोर मनोबल र अभावकै बीचमा पनि यसपाला विपद्मा प्रहरी सक्रिय रुपमा खटिरहेको छ।
प्राय घटनामा पहिलो सूचना प्रहरीबाट नै सर्कुलेट हुन्छ।
जनतासँग जोडिएकाले प्रहरीको सूचना संयन्त्रलाई बलियो मानिन्छ। त्यही सूचना प्रवाहलगत्तै फिल्डमा खटिने जिम्मेवारी प्रहरीकै हुन्छ। तर, स्रोत साधन अन्य निकायमा भर पर्नु पर्ने अवस्थामा प्रहरी पुगेको छ भने उसले चाहेजसरी वा क्षमताअनुसार काम देखाउन सक्छ त?
यसपाला ‘ग्राउन्ड जिरो’ सक्रिय हुन प्रहरीका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने अवस्था बनेको छ। चाहेर पनि तत्कालै उद्धार र राहतमा प्रहरी खटिनसक्ने अवस्था छैन। त्यसको कारण हो अपर्याप्त उद्धारका साधन। हेलिकप्टरबाट उद्धार गर्नुपर्दा प्रहरीले पहिले गुहार लगाउनुपर्ने अवस्था छ। कुँवरले चाहेजस्तै आफ्नै साधान हुन्थ्यो भने प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता हुन्थेन। उद्धारले रफ्तार लिन्थ्यो। सूचना र समुदायसँग बढी कनेक्सन हुँदाहुँदै पनि उद्धारको हतियारमा पछाडि छ प्रहरी।
‘सूचना भए पनि साधन अभाव हुँदा प्रहरी प्रस्ट रुपमा खटिन सक्दैन। अहिले प्रहरीको कमान्ड राम्रो देखिन्छ। तर कता कता साधन अभाव भएकै छ,’ पूर्वमहानिरीक्षक कुँवरले भने।

चीनबाट बाढी आएको जानकारी सुरक्षा निकायले अगाडि नै पाएको थियो। त्यसैको आधारमा प्रहरीले नदी किनारमा माइकिङ समेत गरेको थियो। जसले प्रहरीको सूचनालाई आधार मानेर सुरक्षित ठाउँ रोजे, उनीहरू ज्यान बचाउन सफल भए। जसले पत्याएनन् तिनको ज्यान जोखिममा पर्यो। प्रहरीसँग त्यही माइक समेत थिएन भने? जवाफ सजिलो छ – थप बढी मानवीय क्षति।
बलियो मनबलसँगै आवश्यक ‘टुल’ छ भने उद्धार रफ्तार लिन सक्छ। त्यसको प्रतिफल बलियो हुन्छ। जेन-जी आन्दोलनमा पोसाकदेखि सवारीसम्म खरानी भएपछि प्रहरीहरू समुदायमा पुग्नै कठिन रहँदै आएको छ। विपद्को बेला त्यो अभाव अझ टड्कारो देखिएको छ।
पूर्वमहानिरीक्षक कुँवर अहिलेको सरकारले आफ्नो क्षमता अनुसार रेस्क्यु र राहतको काम गरिरहेकोमा तारिफ गर्छन्। तर स्रोत साधन हुन्थ्यो भने धेरैलाई जोगाउन सकिन्थ्यो भन्ने उनलाई लागेको बताए। प्रहरी जसरी खटिएका छन् यातायात लगायतका साधन भइदिएको भए त्यसले कयौं गुणा रफ्तारमा उद्धारलाई साथ दिन्थ्यो।
‘प्रहरीका लागि साधन स्रोत आवश्यक छ भनेर राज्यले सामान्य अवस्थामा सोच्दैन। अनि विपद्मा हामीले अरूको मुख ताक्नुपर्ने अवस्था छ,’ उनले भने,’बाढीको कारण पृथ्वीराजमार्ग तीन दिनदेखि अवरुद्ध छ। लेदो र बालुवा सडकमा थुप्रिएको छ। गृहमन्त्री सुदन गुरुङज्यूले सार्वजनिक रुपमा नै डोजर र एस्काभेटर माग्नु पर्ने अवस्था आयो।’

प्रहरी कर्मचारी आफैं बाढीको सिकार भएका छन्। सडक सम्पर्क पूरै टुट्दा प्रभावित क्षेत्रका प्रहरी कार्यालय थप संकटमा परेको छ। रसुवाको सबै प्रभावित क्षेत्रमा प्रहरी पुग्न नसक्नुको पछाडि आफ्नो स्रोत साधन नहुनु नै हो। प्रहरी त्रिशूलीबाट बेत्रावती पारि पुग्न सकेको छैन किनकि सडकको नामोनिसान बाँकी छैन, पुल बगिसक्यो। सडक नभएको ठाउँमा सेनाको हेलिकप्टरको भर पर्नुको प्रहरीसँग विकल्प छैन।
सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनत कुमार बस्नेत रिसर्चमा सुरक्षा निकायलाई खटाउन नसक्दा विपद्मा ठुलो क्षति बेहोर्नु परेको बताउँछन्। समय, साधन र स्रोतमा राज्यले सुरक्षाकर्मी माथि लगानी नगरेको उनको बुझाइ रहेको छ।
‘सरकार एक्टिभ देखियो। सुरक्षा निकाय फूर्तिला छन्। तर स्रोत र साधन छैन। यसमा पहिले नै पूर्वतयारीको लागि लगानी गरेको भए क्षति न्यूनीकरण र उद्धार अझै सजिलो हुन्थ्यो,’ पूर्वमहानिरीक्षक बस्नेतले भने।