काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले रसुवाको भोटेकोशीको विनाशकारी बाढी पीडितको उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलरको आपतकालीन अनुदान स्वीकृत गरेको छ।
रसुवा बाढीपछि विभिन्न दातृ निकाय तथा विकास साझेदारहरुले सहयोग घोषणा गरिरहेका छन्।
एडीबीको एसिया प्रशान्त विपद् प्रतिकार्य कोषबाट घोषित अनुदान उपलब्ध गराइने छ। अनुदान रकम खोज तथा उद्धार उपकरण, औषधि तथा स्वास्थ्य सामग्री, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री, गेग्रान हटाउने कार्यलगायतका खर्च गरिनेछ।
एडीबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय तथा विकास साझेदारहरूसँग नजिकबाट सहकार्य गरिरहेको पनि जनाएको छ।
एडीबीले विपद् प्रतिकार्य कोषको दोस्रो विन्डोमार्फत थप एक लाख ५० हजार अमेरिकी डलरसम्म रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको पनि जनाएको छ। उक्त रकम विपद्पछिको आवश्यकताको मूल्यांकन, पुनःप्राप्ति योजना निर्माण तथा सम्भावित पुनःस्थापना र पुनर्निर्माणका लागि लगानीको तयारीमा प्रयोग गरिने जनाइएको छ।
‘यो ५० लाख अमेरिकी डलरको अनुदान हामीले गरेको प्रतिबद्धता पूरा गरेको प्रमाण हो,’ एडीबीका अध्यक्ष मासातो कान्डाले भने, ‘हाम्रा सदस्य राष्ट्रका नागरिकलाई हाम्रो आवश्यकता पर्दा हामी उनीहरूको साथमा हुनेछौँ। यी नदी आसपासका परिवारहरूले आफ्ना प्रियजन, घर तथा समुदायका लागि आवश्यक आधारभूत सेवासमेत गुमाएका छन्। सहयोगमा ढिलाइ गर्न सकिँदैन। क्षतिको अवस्था अत्यन्तै गम्भीर छ र अझै पनि क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ। तर, यो सहयोगले अहिले तत्काल आवश्यक पर्ने खाद्यान्न, सुरक्षित खानेपानी, आश्रय, औषधि तथा अन्य अत्यावश्यक सामग्री प्रभावित नागरिकसम्म पुर्याउन मद्दत गर्नेछ। विपद् आउँदा एडीबी सक्रिय हुन्छ।’