BIZMANDU
www.bizmandu.com

एनआरएनएका पूर्वअध्यक्ष शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग

२०८३ भदौ १२

एनआरएनएका पूर्वअध्यक्ष शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग
एनआरएनएका पूर्वअध्यक्ष शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग


काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

Vigo
GBIME
Tata

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुर्‍याएको अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै शर्माले प्राकृतिक विपत्तिको यस घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना समेत गरेका छन्।

पिजन इन्जिनियरिङ ग्रुपका अध्यक्ष समेत रहेका शर्माले विज्ञप्तिमा भनेका छन्, ‘यो सहयोगको अंकभन्दा पनि मातृभूमि संकटमा पर्दा हामी जहाँ भए पनि देशकै साथमा छौँ भन्ने हाम्रो आत्मीय भावना र दायित्वको सानो अभिव्यक्ति हो। देश बाहिर रहे पनि हाम्रो मन सधैँ मातृभूमिमै हुन्छ।’

विज्ञप्तिमा शर्माले उद्धार र राहत कार्यमा अहोरात्र खटिएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा गैरसरकारी निकायहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्। साथै, प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्ने गैरआवासीय नेपाली संघका अभियन्ताहरू र मानवीय सद्भाव देखाउने छिमेकी राष्ट्रहरूप्रति पनि उनले आभार प्रकट गरेका छन्।

पूर्व अध्यक्ष शर्माले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो सामर्थ्यअनुसार बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न हार्दिक अपिल समेत गरेका छन्।

‘भूकम्प, महामारी र बाढी–पहिरो जस्ता राष्ट्रिय संकटका बेला हामी नेपालीहरू सधैँ एक भएर उभिएका छौँ,’ उनले भनेका छन्, ‘आज फेरि त्यही एकता र मानवीय भावनालाई व्यवहारमा उतार्ने समय आएको छ। हामी सबैले हातेमालो गरेमा पीडितहरूको घाउमा मलम लगाउन र उनीहरूलाई पुनः उठ्नका लागि ठूलो हौसला प्रदान गर्न सक्छौं।’