काठमाडौं। सरकारले बाढी प्रभावितको राहतका लागि निजी क्षेत्र र जनस्तरबाट राम्रो साथ पाएको छ।
निजी क्षेत्र र जनस्तरबाट साथ पाएकै कारण ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार यो रकम बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्मको हो।
विभिन्न १० वाणिज्य बैंकमा रहेको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको छ। यसमा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन्।
कोषमा यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ थियो।
व्यावसायिक संस्थाहरुले सरकारलाई खुलेर सहयोग गरिरहेका छन्। अहिलेसम्म गोर्खा ब्रुअरीले सबैभन्दा धेरै १० करोड रुपैयाँ सहयोग गरेको छ। अरु व्यावसायिक संस्थाले पनि आफ्नो हैसियत अनुसार सहयोग गरिरहेका छन्। नागरिकस्तरबाट पनि कोषमा रकम जम्मा गर्ने क्रम बढिरहेको छ।
बुधबार बिहान चीनबाट आएको बाढीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति गरेपछि सरकारले सहयोगका लागि अपिल गरेको थियो।
बिहीबार ६ घण्टाको अवधिमा निजी क्षेत्रका संस्थाहरुले अर्थ मन्त्रालय पुगेर २७ करोड ३३ लाख रुपैयाँ सहयोग गरेका थिए।