काठमाडौं। घरजग्गा कारोबारबाट साउन महिनामा पौने ४ अर्ब राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा ३ अर्ब ८४ करोड ५८ लाख ७५ हजार ६९ रुपैयाँ संकलन भएको हो।
अघिल्लो साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजस्व संकलन भएको थियो। साउनमा ३३ हजार ९७८ लिखत पारित हुँदा कुल कारोबार १ करोड १४ लाख ८ पटक भएको छ।
अघिल्लो साउनमा ३१ हजार ६५१ लिखत पारित भएको थियो। काठमाडौंका विभिन्न भूमि प्रशासन कार्यालयबाट यो महिना कम जग्गा कारोबार भएको देखिन्छ।
साउनमा कलंकी भूमि प्रशासन कार्यालयबाट ४३५ लिखत पारित, चाबहिल भूमि प्रशासन कार्यालयबाट २९४, साँखु भूमि प्रशासन कार्यालयबाट २५६ लिखत पारित भएको छ।
साउनमा लगनखेल भूमि प्रशासन कार्यालयबाट ८६३ लिखत पारित हुँदा भक्तपुर भूमि प्रशासन कार्यालयबाट ९८३ लिखत पारित भएको विभागले जनाएको छ।
साउनमा झापाका तीन भूमि प्रशासन कार्यालयबाट २०६६ लिखत पारित भएको देखिन्छ। आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा कारोबारबाट असारमा ११ अर्ब ८४ करोड ५९ लाख ५५ हजार ५६ रुपैयाँ राजस्व संकलन भएको थियो।
देशभरका भूमि प्रशासन कार्यालयले गत जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार र चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार राजस्व संकलन गरेका थिए।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले कित्ताकाट बन्द हुँदा घरजग्गा व्यवसाय सुस्ताएको बताए।
‘अहिले धेरै स्थानीय तहमा कित्ताकाट रोकिएको छ। जग्गाको वर्गीकरण सकिएका ठाउँमा मात्र कित्ताकाट भइरहेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘यसैले पनि साउनमा कारोबार सुस्ताएको हो।’