BIZMANDU
www.bizmandu.com

काठमाडौंमा हवाई इन्धन ६० लाख लिटर, ग्यास ४९ हजार टन, अरुमा पनि छैन समस्या

२०८३ भदौ १२

काठमाडौंमा हवाई इन्धन ६० लाख लिटर, ग्यास ४९ हजार टन, अरुमा पनि छैन समस्या
काठमाडौंमा हवाई इन्धन ६० लाख लिटर, ग्यास ४९ हजार टन, अरुमा पनि छैन समस्या


काठमाडौं। नेपाल आयल निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपोमा ६ हजार किलोलिटर (६० लाख लिटर) हवाई इन्धन मौज्दात छ।

Vigo
GBIME
Tata

उक्त डिपोमा दैनिक ४ लाख लिटर मात्रै खपत हुने गर्छ। यो आधारमा हवाई इन्धनको मौज्दात १५ दिनलाई धान्ने छ।

‘हवाई इन्धन हामीसँग प्रर्याप्त नै छ। पृथ्वी राजमार्ग समेत शुक्रबार साँझसम्म खुल्ने अवस्था रहेको जानकारी आएको छ,’ निगमका एलपीजी एभिएसन विभागका निर्देशक विनितमणि उपाध्यायले बिजमाण्डूसँग भने, ‘बाटोमा रोकिएका ट्यांकरहरू पनि आउँछन्। त्यसले थप स्टक बढ्छ।’

भोटेकोशीमा आएको बाढीले पृथ्वी राजमार्ग दुई दिनदेखि अवरुद्ध छ। अरु कुनै समस्या नआएमा लेदो पन्छाउने काम शुक्रबार बेलुकासम्म सकिने र राजमार्ग संचालनमा ल्याउन सकिने देखिएको छ।

उपाध्यायका अनुसार अरु पेट्रोलियम पदार्थको पनि समस्या छैन। काठमाडौंमा मागे अनुसार नै पेट्रोलियम पदार्थ वितरण भइरहेको छ।

‘पेट्रोल र डिजलमा पनि समस्या हुने अवस्था छैन। हामीसँग भएको स्टकले धान्छ। थप आज आइहाल्छ,’ एलपीजी ग्यास पनि अगस्ट २८ सम्म ४९ हजार टन आइसकेको जनानकारी दिँदै उनले भने।

निगमका निर्देशक उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेशन (आइओसी)सँग ५५ हजार टन दिनका लागि आग्रह गरिएको थियो।

‘हामीले अभाव हटाउनका लागि ५५ हजार टन आपूर्तिका लागि आग्रह गरेका थियौं। त्यही आग्रह अनुसार ग्यास पनि आइरहेको थियो,’ उनले भने, ‘तर, हाम्रोमा बाढी आएर राजमार्ग अवरुद्ध भएकाले काठमाडौंको हकमा बुलेट रोकिएर समस्या भएको छ। तर, त्यो समस्या पनि बाटो खुलेपछि समाधान हुन्छ।’

१५ दिन अगाडिसम्म ग्यासको हाहाकार देखिएपनि बिस्तारै हट्दै गएको थियो। ग्यास आपूर्ति बढ्न थालेपछि डिलरले ग्यास वितरण प्रणालीलाई पूरानै अवस्थामा लगिसकेका थिए।

बाढीले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भने दुई दिनदेखि बाटोमा ग्यास बोकेका बुलेट रोकिएका छन्। त्यसले ग्यासको आपूर्ति प्रणाली सहज हुन केही समय थप लाग्ने देखिएको छ।