काठमाडौं। नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकअगाडि आफन्तजनको भीड छ। कोही हातमा आफन्तको तस्बिर बोकेर आएका छन्। कोही हेलिकप्टरतर्फ टोलाइरहेका छन्। सबैको नजर आकाशतिर छ।
आफन्तको पर्खाइमा उनीहरूका आँखा टोलाइरहेका छन्। मनमा एउटै आशा छ- बाढीमा फसेका परिवारका सदस्य सकुशल फर्किऊन्।
नेपाली सेनाले बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार थालेको छ। बट्टारस्थित श्री नम्बर १ सैनिक तालिम केन्द्रबाट उद्धार अभियान सञ्चालन भइरहेको छ।


रसुवा र नुवाकोटका विभिन्न स्थानबाट उद्धार गरिएकालाई सुरक्षित स्थानमा पुर्याउन थालिएको छ। सम्भव भएसम्म उनीहरूलाई आफ्नै घर वा आफन्तको सुरक्षित आश्रयसम्म पुर्याइँदैछ।
अहिले सैनिक केन्द्रबाट चारवटा हेलिकप्टरले उडान भरिरहेका छन्। हरेक उडानसँगै ब्यारेकअगाडि आशा पनि जाग्छ।


कसैको आँखामा खुसीको आँसु छ। कसैको आँखामा अझै चिन्ता छ। कसैका लागि उद्धार भएको खबर नै ठूलो राहत बनेको छ।
बुधबार भोटेकोशीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। हजारौं मानिस विस्थापित भएका छन्। एक हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको बताइएको छ।


बाढीले सडक अवरुद्ध भएपछि उद्धारमा थप कठिनाइ भएको छ। अहिले धेरै स्थानमा हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने अवस्था छ।
नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ हेलिकप्टर उद्धारमा परिचालित छन्। १३ हजार सुरक्षाकर्मी फिल्डमा खटिएका छन्।


बाढीले सडक मात्र नभई सञ्चार र विद्युत् सेवा पनि अवरुद्ध पारेको छ। विदुर बजारमा भने बिहीबार साँझदेखि विद्युत् सेवा फर्किएको छ।


