BIZMANDU
www.bizmandu.com

तिब्बतमा पानीको ड्याम पुन: फुटेको जानकारी, सतर्क रहन प्रशासनको अपिल

२०८३ भदौ १२

तिब्बतमा पानीको ड्याम पुन: फुटेको जानकारी, सतर्क रहन प्रशासनको अपिल
तिब्बतमा पानीको ड्याम पुन: फुटेको जानकारी, सतर्क रहन प्रशासनको अपिल


काठमाडौं। तिब्बतमा पानीको ड्याम पुनः फुटेको जानकारी आएको छ। जसका कारण भोटेकोशीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन प्रहरी र स्थानीय प्रशासनले अपिल गरेका छन्।

Vigo
GBIME
Tata

पानीको ड्याम पुनः फुटेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन अपिल गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए।

‘तिब्बतमा पुनः ताल फुटेको सूचना आएपछि हामीले आकस्मिक बैठक बसेर तल्लो तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क रहन आग्रह गरेका छौं,’ उनले भने।

नेपाल प्रहरीले पनि तिब्बतमा पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै उद्धार कार्यमा खटिएकाहरू र सर्वसाधारणलाई सुरक्षित स्थानमा जान अपिल गरेको छ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले पनि चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको खबर आएको जानकारी दिए।

बुधबार तिब्बतबाट आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेसी र बेत्रावती तथा नुवाकोटका बिदुर त्रिशुली, देवीघाट लगायत धेरै क्षेत्र बगरमा परिणत भएका छन्।

बाढीमा परी ज्यान गुमाएका ४७५ जनाको शव फेला परेको छ। सुरक्षाकर्मीले करिब १६०० जनाको उद्धार गरेका छन्।

नेपाल प्रहरीका अनुसार २३०० भन्दा बढी अझै सम्पर्कविहीन छन्। बेत्रावतीबाट उत्तरतर्फ ४० किलोमिटर सडक कोल्याप्स भएका कारण उद्धारमा समस्या भइरहेको छ। सडक सम्पर्क टुटेका कारण स्थालमार्गबाट सुरक्षाकर्मी परिचालन गर्न समस्या भएको हो।

बुधबारको बाढीमा परेकाहरूको उद्धार कार्य नसकिंदै फेरि ताल फुटेको सूचना आएको हो।

बाढीको पुनः जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको एउटा अस्थायी ताल फुटेपछि उद्धार कार्य रोकिएको हो।

‘सबै उद्धार टोलीलाई हालकै स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ,’ सीसीटीभीले भनेको छ।

घटनास्थलमा पुगिसकेका आपत्कालीन टोलीलाई बाढीको खतराका कारण एक किलोमिटर पछि हट्न निर्देशन दिइएको समाचारमा उल्लेख छ।

चीन-नेपाल सीमा क्षेत्रमा बुधबार ठूलो पहिरो गएको थियो। पहिरोसँगै आएको हिलो र पानीको भेलले जिरोङ बन्दरगाह क्षेत्रलाई समेत प्रभावित बनाएको थियो।

पहिरोपछि नदीको बहाव अवरुद्ध हुँदा ठूलो ताल बनेको थियो। लगातार परेको भारी वर्षाले तालमा पानीको सतह झनै बढेको अधिकारीहरूले बताएका थिए। चिनियाँ अधिकारीले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेका छन्।

पानीको सतह थप बढेमा तालको बाँध फुट्न सक्ने चेतावनी यसअघि नै दिइएको थियो। आगामी केही दिनमा थप वर्षा हुने सम्भावनाले जोखिम झनै बढाएको छ।

त्यसैले उद्धारकर्मीलाई अहिलेका लागि सुरक्षित स्थानमा रहन निर्देशन दिइएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। उद्धार टोलीले पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको थियो।