BIZMANDU
www.bizmandu.com

वैकल्पिक नाका प्रयोग गर्न खुल्यो बाटो, बैंकमार्फत भन्सार बिन्दु फेरेर सामान जाँचपास गर्न सकिने

२०८३ भदौ १२

वैकल्पिक नाका प्रयोग गर्न खुल्यो बाटो, बैंकमार्फत भन्सार बिन्दु फेरेर सामान जाँचपास गर्न सकिने
वैकल्पिक नाका प्रयोग गर्न खुल्यो बाटो, बैंकमार्फत भन्सार बिन्दु फेरेर सामान जाँचपास गर्न सकिने


काठमाडौं। बाढीपछि रसुवा भन्सार कार्यालय हुँदै आयात निर्यात प्रभावित भएपछि सरकारले वैकल्पिक भन्सार नाका प्रयोग गर्न बाटो खुलाएको छ।

Vigo
GBIME
Tata

भन्सार विभागले व्यवसायीलाई सम्बन्धित बैंकमार्फत भन्सार बिन्दु परिवर्तन गरी सामान जाँचपास गर्न सकिने व्यवस्था गरेको हो।

भन्सार विभागले सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। सडकमा रहेका सामान वैकल्पिक नाकाबाट पैठारी गर्न चाहने व्यवसायीले सम्बन्धित बैंकमा सम्पर्क गर्नुपर्नेछ।

बैंकमा भुक्तानीका क्रममा उल्लेख भएको भन्सार बिन्दुको सट्टा आफूले प्रयोग गर्न चाहेको नाका कायम गर्न सकिनेछ। त्यसपछि परिवर्तित भन्सार बिन्दुमा सामान घोषणा गरी जाँचपास गर्न सकिने विभागले जनाएको छ।

यो व्यवस्था प्रतितपत्र, ड्राफ्ट र टीटी लगायतका भुक्तानी माध्यमबाट सामान पैठारी गर्दा समेत लागू हुनेछ। भन्सार बिन्दु परिवर्तन गर्न अन्य सरकारी निकायको अनुमति वा सिफारिस आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ।

भोटेकोशीमा आएको बाढीपछि रसुवा क्षेत्रको सडक तथा भन्सार पूर्वाधारमा समस्या देखिएको छ। त्यसका कारण नियमित नाकाबाट सामान पैठारी गर्न कठिनाइ भएपछि व्यवसायीलाई वैकल्पिक व्यवस्था गरिएको हो।

भन्सार विभागले बाढीपछिको अवस्थालाई ध्यानमा राखेर सामान पैठारी सहज बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ। यसबाट बाटोमा रहेका तथा आयातका क्रममा रहेका सामानलाई वैकल्पिक नाकाबाट भित्र्याउन व्यवसायीलाई सुविधा पुग्नेछ।