काठमाडौं। रसुवाको भोटेकोशी नदीबाट आएको भीषण बाढीले पृथ्वी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन्।
बाढीले ल्याएको लेदो र गेग्रानका कारण गल्छी-बैरेनी, गलौदी, जरेखेत र चालिसे क्षेत्रमा सडक अवरुद्ध भएको हो।
नागढुंगा-मुग्लिन योजना कार्यालयले अवरुद्ध सडक खुलाउन ठूलो संख्यामा मेसिन परिचालन गरेको छ। कार्यालयले भदौ ११ गते साँझसम्म सडक खुलाउने तयारी गरेको जनाएको छ।
नौबिसे-मलेखु खण्डअन्तर्गत गल्छी-बैरेनी क्षेत्रमा करिब १ हजार ३०० मिटर सडक लेदोले पुरिएको छ। उक्त क्षेत्रमा दुईदेखि तीन मिटर बाक्लो लेदो जमेकाले एक्स्काभेटर, लोडर, ब्याकहो र टिपर परिचालन गरिएको छ।
गलौँदी क्षेत्रमा करिब ५०० मिटर सडकमा लेदो जमेको छ। त्यहाँ दुई मिटरसम्म बाक्लो लेदो पन्छाउने काम भइरहेको छ।
जरेखेत क्षेत्रमा पनि करिब ७०० मिटर सडक लेदोले ढाकिएको छ। उक्त क्षेत्रमा करिब एक मिटर बाक्लो लेदो हटाउने काम भइरहेको छ।
चालिसे क्षेत्रमा पनि करिब एक मिटर बाक्लो लेदो जमेको छ। त्यहाँ पनि सडक सफा गर्ने काम जारी रहेको कार्यालयले जनाएको छ।
मलेखु-मुग्लिन खण्डको जोगीमारा, जवाङखोला र मोवाखोलामा भने लेदो हटाउने काम सकिएको छ। ती क्षेत्रमा सडकको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ।
नारायणगढ-मुग्लिन सडक र मुग्लिन-पोखरा सडक भने नियमित रूपमा सञ्चालनमा छन्। पृथ्वी राजमार्गका अवरुद्ध खण्ड खुलाउन भने अझै केही समय लाग्ने देखिएको छ।
लेदो बाक्लो भएकाले हटाउने काममा कठिनाइ भइरहेको कार्यालयले जनाएको छ। यात्रुहरूलाई तत्काल यात्रा नगरी सडकको अवस्था बुझेर मात्रै अघि बढ्न आग्रह गरिएको छ।
आपतकालीन अवस्थाबाहेक यात्रा गर्नुपर्ने भए सम्भव भएसम्म सडक खुलेपछि मात्रै यात्रा गर्न सुझाव दिइएको छ। यात्रामा रहेका यात्रुलाई पनि हाल यथास्थानमा धैर्य गर्न आग्रह गरिएको छ।
त्रिशूली बजारबाट काठमाडौं जाने यात्रुका लागि वैकल्पिक सडकसमेत प्रयोग गर्न सकिनेछ। त्रिशूली अस्पतालबाट बगुवा, माझिगाउँ, भट्टगाउँ, चैनपुर हुँदै गल्छी बजार निस्किएर काठमाडौं जान सकिन्छ।
वैकल्पिक मार्ग गोस्याङ मानेडाँडा, कालीमाटी छापादाङ, छत्रेखोला पुल, बुधसिङ, नेवारपानी र चन्दनी हुँदै अघि बढ्छ। त्यसपछि तारकेश्वर वडा नम्बर २ कार्यालय, कोलडाँडा, आरुबोटे, कोशिखोला हुँदै गल्छीको पहेँलो बेलिब्रिजबाट काठमाडौं पुग्न सकिनेछ।
काठमाडौंबाट गल्छी हुँदै सम्बन्धित गाउँबस्ती र त्रिशूली बजारतर्फ पनि यही वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। तर, यात्रा गर्नुअघि स्थानीय अवस्था र सडकको तत्कालीन स्थिति बुझ्न आग्रह गरिएको छ।