काठमाडौं। आँखै अगाडि नदी उर्लिएर बस्ती, सडक र संरचना बगाएपछि रसुवा-नुवाकोटका बाढी प्रभावित क्षेत्रका मानिस अहिले आफन्तको खोजीमा छन्। कोही आफन्त आउने आशामा छन्, कोही बेपत्ता भएका आफन्तको खोजीमा छन् भने कतिपय शव पहिचान गर्नुपर्ने पीडामा छन्।
बाढी आउनुअघि स्थानीयलाई माइकिङ गर्दै सतर्क गराइएको थियो। बिहान कार्यालय जाने समयमा एक्कासी नदी उर्लिएपछि धेरैले सामान सार्ने र सुरक्षित स्थानमा पुग्ने पर्याप्त समय पाएनन्। बाढी रातिको समयमा आएको भए क्षति स्थिति भयावह हुनेमा शंका रहेन।
सदरमुकाम विदुर अगाडि ढुंङ्गे क्षेत्रका ७० वर्षीय एक स्थानीयले आफ्नो जीवनमा पहिलोपटक यति ठूलो बाढी देखेको बताए। उनका अनुसार सुरुमा ठूलो आवाज आयो, त्यसपछि नदी कालो मुस्लोसहित उर्लियो।
‘ठूलो आवाज आयो। खोला कालो मुस्लोसहित आयो, फेरि घटेर गयो। मैले जीवनमा पहिलोपटक यस्तो देखें,’ उनले भने, ‘यही खोलासँग जन्मिएर हुर्कियौं। अब मर्ने बेलामा यस्तो देख्नुपर्यो। खोलाले यस्तो ठूलो रूप लिन्छ भन्ने हामीले सपनामा पनि सोचेका थिएनौं। हामी बसेको ठाउँ मरुभूमिजस्तै भयो।’
माइकिङ गरेर जानकारी गराइए पनि स्थानीयले यति ठूलो बाढी आउला भन्ने धेरैले अनुमान गरेका थिएनन्। बाढी आएपछि तल्लो क्षेत्रमा रहेका मानिस सुरक्षित स्थानतर्फ भागे।
वैकुण्ठ नेपालका अनुसार उनी घरबाट विदुरस्थित कार्यालयमा हाजिर हुन नपाउँदै खोला उर्लिएको थियो। ‘म टुप्चेबाट विदुर कार्यालयमा हाजिर हुन आउँदै थिएँ। मभन्दा केही पछाडि खोला आएको रहेछ। धन्न बचिएछ,’ उनले भने।
उनका एक आफन्त ढुंङ्गेबजार क्षेत्रमा अलपत्र अवस्थामा रहेको र परिवारका अन्य सदस्य पनि प्रभावित क्षेत्रमा रहेको उनले बताए। भाडामा बस्ने परिवार तथा बैंकका कर्मचारी पनि ठूलो संख्यामा बाढीबाट प्रभावित भएका छन्।

‘घर २०० मिटर पर छ, तर बाबा-आमालाई के भयो थाहा छैन’
त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सम्झना अधिकारी पनि बाढीका कारण विदुरमै अलपत्र परेकी छन्। उनको घर त्रिशूली नदी पारि छ। उनी दैनिक विद्यालय आउने जाने गर्थिन।
‘हामी कक्षामा थियौं। बच्चा विद्यालय आउँदै थिए। सरहरूले केही विद्यार्थीलाई घर पठाउनुभयो। त्यसपछि अरू पनि जान थाले,’ उनले भनिन्, ‘हामी जंगलको बाटो हुँदै बन्देवीतिर गयौं। आफन्तलाई घरमा सम्पर्क गर्ने प्रयास गर्यौं, तर सम्पर्क हुन सकेको छैन।’
सम्झनाका अनुसार विद्यालयबाट उनको घर करिब २०० मिटरको दूरीमा छ। तर, बाढीपछि घरमा रहेका बाबुआमाको अवस्था भने उनलाई अहिलेसम्म थाहा छैन।
‘अहिले बाबा-ममीलाई के भयो थाहा छैन। स्कूलबाट फोन गर्दा पनि घरमा सम्पर्क हुन सकेन,’ उनले भनिन्।
उद्धारका लागि नेपाली सेनाका हेलिकोप्टर परिचालन भइरहेका छन्। सुरक्षाकर्मीले बाढी प्रभावित क्षेत्रबाट उद्धार पनि गरिरहेका छन्। तर, आफन्त अझै सम्पर्कविहीन रहेकाले कतिपयको आशा कमजोर बन्दै गएको छ।

‘२५ जनालाई कसरी बचायौं, अहिले सम्झनै सक्दैनौं’
देवघाट क्षेत्रमा बाढीबाट जोगिएका सकिल खान र दिनेश कारञ्जितले आफूहरू करिब २५ जनालाई सुरक्षित स्थानतर्फ लैजान सफल भएको बताए।
उनीहरूका अनुसार बाढी माथिल्लो क्षेत्रबाट आएको थाहा पाउँदासम्म खोलाले ठूलो रूप लिन थालिसकेको थियो। त्यसपछि मानिसहरू आत्तिएर ज्यान जोगाउन भागे।
‘बुढाबुढी र बच्चाहरूलाई बोकेर हिंड्यौं। २५ जना जतिलाई कसरी बचायौं? अहिले याद नै छैन,’ उनीहरूले भने, ‘त्यो क्षण कस्तो थियो? अहिले सम्झँदा पनि डर लाग्छ।’
उनीहरूका अनुसार हिम पाइपमा काम गर्ने करिब २५ जना मानिस पनि त्यही क्षेत्रमा थिए। माथिबाट बाढी आएको थाहा पाउँदा नपाउँदै खोलाले भयावह रूप लियो र हराए।
‘त्यसपछि हामी सबै आत्तियौं। के गर्ने, कसरी गर्ने केही सोच्न सकिएन। जति सकियो, त्यति मानिसलाई बचायौं,’ उनीहरूले भने।

‘बेत्रावतीदेखि ढुंङ्गे बजार सम्मको अवस्था थाहा छैन’
ढुंङ्गे बजार क्षेत्रमा अलपत्र परेका एक स्थानीयले बेत्रावतीमा रहेका आफन्तको अवस्था पनि अनिश्चित रहेको बताए। उनका अनुसार बेत्रावतीदेखि ढुंङ्गे बजारसम्मको क्षेत्रमा गोसाइँकुण्डतर्फ जाने यात्रु समेत बाढीमा परेका छन्।
‘हाम्रा आफन्त बेत्रावतीमा छन्। सदरमुकाम आएका छौं। बेत्रावतीदेखि ढुंङ्गे बजारसम्मबाट गोसाइँकुण्ड जाने मानिस धेरै जना बितेका र हराएका भन्ने सुनिएको छ,’ उनले भने।
आफ्ना छोराछोरी, श्रीमती तथा अन्य आफन्त कहाँ छन् भन्ने थाहा नभएको उनले बताए। ‘छोराछोरी, बुढी घरमा छन् कि छैनन्, केही थाहा छैन। आमा र छोरा सुन लिन गएका थिए। के भयो थाहा छैन?,’ उनले भने।

देवघाटमा २०० भन्दा बढी परिवार आश्रयमा
बाढीबाट प्रभावित देवघाट क्षेत्रका २०० भन्दा बढी परिवार अहिले आयुर्वेदिक केन्द्रमा आश्रय लिएर बसेका छन्। स्थानीय तथा ‘सेभ द चिल्ड्रेन’ लगायत संस्थाले प्रभावित परिवारका लागि बस्ने र खाने व्यवस्था गरिरहेका छन्।
त्यहाँ आश्रय लिएका मानिस दिनभरि पिपलको रूखमुनि भेला भएर बाढीका क्षण र आफूले भोगेको पीडा सुनाइरहेका छन्। कसैले आफन्तको खोजी गरिरहेका छन्, कोही उद्धारको पर्खाइमा छन्। कतिपय आफन्त फर्किएर आउने आशामा बाटो कुरिरहेका छन्।
उनीहरूका लागि अबको सबैभन्दा ठूलो चिन्ता घर-सम्पत्तिभन्दा पनि सम्पर्कविहीन आफन्त सुरक्षित छन् कि छैनन् भन्ने हो।
‘एक-दुई मिनेटले बाँचियो’
रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगाना उद्धारपछि अहिले काठमाडौंमा छन्। उनले रसुवाको टिमरे क्षेत्रमा आफ्नै आँखाले बाढी देखे। उनी सम्झँदा पनि झसङ्ग हुन्छन्। उनले ठूलो आवाज आएपछि कार्यालयबाट भागेर ज्यान जोगाएका थिए।
‘एक-दुई मिनेटले बाँचियो। कार्यालयबाट भागेर जंगलतिर लागेर ज्यान जोगाइयो। जीवनमा के-के देखियो, के-के भोगियो?,’ उनले भने। ढुंगानासहितका भन्सारका कर्मचारीलाई नेपाली सेनाले उद्धार गरेको छ।
उनका अनुसार तल्लो क्षेत्रतर्फ गएका धेरै मानिस बाढीमा परेका छन्। माथिल्लो क्षेत्रतर्फ जान सकेकाहरु जोगिन सफल भएका छन्। ‘तलतिर जाने जतिलाई भोटेकोशीले बगायो। माथितिर जानेहरू बचे। हामी पनि माथितिर गएर बाँच्यौं,’ उनले भने। भन्सार कार्यालयका ४० कर्मचारीमध्ये १४ जना अझै सम्पर्कविहीन छन्।









