काठमाडौं। भोटेकोशी नदीको बाढीमा परेकाहरुको उद्धारका लागि बागमती प्रदेश प्रहरी कार्यालयका डीआइजी दीपक रेग्मी बुधबार साँझ नै नुवाकोट पुगे।
उनले नुवाकोटको विदुर बजारमा बसेर अन्य सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेका छन्। तर, उनले सोचे अनुसार उद्धारको काम हुन सकेको छैन।
यसको मुख्य कारण हो, नुवाकोट र रसुवा जोड्ने बेत्रावतीको सडक क्षतिग्रस्त हुनु।
सडक क्षतिग्रस्त भएका कारण सुरक्षाकर्मीहरु उद्धारका लागि सडक मार्ग हुँदै बेत्रावतीबाट अगाडि बढ्न सकेका छैनन्। विदुर बजारभन्दा अगाडिदेखि टिमुरेसम्म हेलिकोप्टरमार्फत मात्र खोजी तथा उद्धारको काम भइरहेको छ।
‘स्थल मार्ग हुँदै बेत्रावतीबाट अगाडि जान सकिएको छैन। सुरक्षाकर्मीको टोली हेलिकोप्टरबाट नै मुभ भइरहेको छ,’ डीआइजी रेग्मीले भने, ‘बाढीले धेरै प्रभावित वस्तीमा सडक क्षतिग्रस्त भएका कारण स्थलमार्गबाट सुरक्षाकर्मी पठाउन नसकेका कारण उद्धारको काम सुस्त देखिएको हो।’

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी-रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन। डीआइजी रेग्मीका अनुसार रसुवालाई सडक सञ्जालसँग जोड्न काम अघि बढाइएको छ। त्यसका लागि बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
अहिलेसम्म ९१० जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणमा अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरेर १३ हजार २९५ सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन्।
सुरक्षाकर्मीको टोलीले बिहीबार ७५६ जनाको उद्धार गरेको छ। यस्तै ६९ वटा हेलिकोप्टर उडानमार्फत ७९६ जनाको उद्धार गरिएको छ। तीमध्ये ५० जना विदेशी नागरिक हुन्।
डेढ सयभन्दा बढी घर सहितको टिमुरेको वस्ती बाढीले बगरमा परिणत भएको छ। स्याफ्रुवेसीमा पनि ठूलो क्षति भएको छ। यस्तै विभिन्न जलविद्युत आयोजना बाढीले क्षतिग्रस्त भएका छन्। आयोजनाका कर्मचारी सम्पर्कविहीन छन्। तर सुरक्षाकर्मी जलविद्युत आयोजनादेखि स्याफ्रुवेसी र टिमुरेमा ठूलो संख्यामा जान नसकेका कारण क्षतिको विवरण संकलनमा समेत समस्या भएको डीआइजी रेग्मीले बताए।
‘यहाँको अवस्थाले पनि अहिले विवरण संकलन भन्दा बढी उद्धार र राहतलाई नै प्राथमिकता दिनुपर्ने अवस्था छ,’ डीआइजी रेग्मीले भने।
बट्टारको श्री नम्बर १ सैन्य तालिम केन्द्रलाई आधार बनाएर रसुवाका विभिन्न स्थानबाट मानिसहरुको उद्धार गरिएको छ। उद्धार गरिएकाहरुलाई सैन्य तालिम केन्द्रमा ल्याउने गरिएको छ।
गम्भिर घाइते भएकालाई भने सेनाको ब्यारेकबाट काठमाडौं ल्याइएको छ। बाढीमा परेर सम्पर्कविहीन हुनेका आफन्तजन र शुभचिन्तको सैनिक केन्द्र बट्टारमा भीड लागेको छ। उनीहरुले आशमा मारेका छैनन्

कतिपयले उद्धारको काम सुस्त भएको बताएका छन्। जलविद्युत आयोजनाहरुले २१२ जना कर्मचारी उद्धारको पर्खाइमा रहेको बताएका छन्। स्थानीय जनप्रतिनिधिले पनि गुनासो गर्न थालेका छन्।
रसुवाको उत्तरगया गाउँपालिका-४ का वडाध्यक्ष अमरबहादुर बुलुनले बाढी प्रभावित आफ्नो क्षेत्रमा सरकारको उपस्थिति नदेखिएको बताए।
‘सेना प्रहरी कोही आएका छैनन्। मसँग सोलार भएकोले फोन चार्ज गर्न सकिरहेको छु। मान्छे कहाँ के भए भन्न सकिने अवस्था छैन,’ वडाध्यक्ष बुलुनले भने।
उनका अनुसार उत्तरगयाको बेत्रावती क्षेत्र बाढीबाट धेरै प्रभावित भए पनि उद्धारको काम भएको छैन। विद्युत् र टेलिफान सेवा अवरुद्ध छ।
विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले पनि उद्धारमा ढिलासुस्ती देखिएको बताइन्।
‘स्कुल गएका बच्चाहरू घर फर्कन पाएका छैनन्। वारिको वारि नै छन्। पारीको पारी नै छन्। सरकारले हेलिबाटमात्र उद्धार गरिरहेको छ। यसले गर्दा स्रोतसाधन नपुगेको हो कि जस्तो देखिन्छ,’ उपमेयर बोगटीले भनिन्।
उनले उद्धारका लागि सुरक्षाकर्मीलाई ठूलो संख्यामा स्थल मार्गबाटपरिचालन गर्न सुझाव दिइन्।