काठमाडौं। सरकारले प्राकृतिक विपद्मा परेकाहरुको उद्धार र राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्च वृद्धि गर्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबारको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।
विपद्को समयमा आफ्नै जीवन बाजीमा राखेर अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जनशक्तिको योगदानलाई कदर गर्दै भत्ता तथा खाजा खर्च बढाउने निर्णय गरेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ।
यो निर्णयले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन पुग्ने सरकारको बुझाइ छ।