काठमाडौं। हुलास ब्रान्डको मातृ कम्पनी दिवाकर गोल्छा अर्गनाइजेसनले बाढी पीडितका लागि अस्थायी पुनर्वास केन्द्र बनाउन सहयोग गर्ने घोषणा गरेको छ।
अर्गनाइजेसनले अस्थायी पुनर्वास केन्द्र बनाउन निर्माण सामग्री सहयोग गर्ने घोषणा गरेको हो। सहयोग स्वरुप आवश्यक जस्तापाता तथा पाइप उपलब्ध गराउने अर्गनाइजेसनले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
अर्गनाइजेसनका निर्देशक हिमांशु गोल्छाले घरबार तथा जीविकोपार्जन गुमाएका परिवारलाई राहतस्वरुप जस्तापाता तथा पाइप उपलब्ध गराउने निर्णय गरेको बताए।
‘संकटको समयमा समयमै गरिएको सहयोगले घर र जीविकोपार्जन गुमाएका परिवारका लागि ठूलो अर्थ राख्न सक्छ। यस्तो कठिन परिस्थितिमा निजी क्षेत्र समुदायको साथमा उभिनुपर्छ भन्ने हाम्रो बुझाइ छ,’ गोल्छाले भने।