काठमाडौं। सेयर बजार लगातार पाँचौ दिन घटेको छ। नेप्से परिसूचक बिहीबार १.०४ अंक घटेर २५५७.३१ विन्दुमा आएको छ। कारोबारमा आएका हाइड्रोपावर, म्युचुअल फण्ड, जीवन बीमा,निर्जीवन बीमा र अन्य उपसमूहका सूचकले बजार घटाएका हुन्।
हाइड्रोपावरको सूचक ०.५५ प्रतिशतले घट्दा निर्जीवन बीमा कम्पनीको सेयर मूल्य २.०४ प्रतिशत ओरालो लागेको छ। बुधबार भोटेकोशीमा आएको बाढीका कारण दर्जन बढी हाइड्रोपावर, सवारी साधन र कन्टेनरहरु बगाउँदाको असर हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीमा परेको हो।
बाढीका कारण क्षति पुगेका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। दसैंतिहारका लागि नेपाल भित्र्याउन ल्याइएका ३०० भन्दा बढी सामानका कन्टेनरहरु बगेको अनुमान छ।
७०० वटा हाराहारी विद्युतीय सवारी बगेको व्यवसयाीको आकलन छ। यी सबैको दायित्व इन्स्योरेन्स कम्पनीमा पर्ने भएकाले सेयर मूल्य प्रभावित बनेको हो।
अप्पर हेवा खोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ९.४५ प्रतिशतले घटेको छ। त्रिशूली जलविद्युतको सेयरमूल्यमा ९.२३ प्रतिशतले गिरावट आएको छ।
बजारमा ११८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बिहीबार सूचकसँगै सेयर किनबेच पनि सुस्ताएको छ। बुधबार ४ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएकामा बिहीबार ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ।
शिवम् सिमेन्टको सबैभन्दा धेरै २१ करोड ७५ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै, एसबीआई बैंकको १६ करोड ६० लाख र चिलिमे हाइड्रोपावरको १६ करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजारमा १४६ कम्पनीको सेयर मूल्य बढेको छ।
सर्वोत्तम् सिमेन्टको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।