काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालतर्फका छोछेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिक ठूलो ताल बनेको जनाएको छ।
चिनियाँ संचारमाध्यम ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी ओभरफ्लो हुन थालेको जनाएको छ।
मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी उक्त तालमा प्रवेश गर्ने अनुमान गरिएको छ। यससँगै तालको बाँध फुट्ने जोखिम उच्च रहेको बताइएको छ।
चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको छ। बुधबारको बाढी पछि नै चिनियाँ पक्षले सीमावर्ती क्षेत्रमा ड्रोनले निगरानी गरिरहेको छ।
सम्भावित बाँध फुटेपछि उत्पन्न हुन सक्ने बाढीको आकलन गर्न बाढी सिमुलेसन र जोखिम विश्लेषण पनि भइरहेको मन्त्रालयले जनाएको छ।
बुधबार नेपाल-चीन सीमाक्षेत्रबाट सुरु भएको बाढीले रसुवा, नुवाकोटसहितका जिल्लामा ठूलो मानवीय क्षति गरिसकेको छ। चीनको तिब्बततर्फ पनि क्षति भएको जनाइएको छ।
चीनतर्फ बिहीबार बिहानसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई जनाको उद्धार गरिएको साथै घटनामा २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। नेपालतर्फपनि जनधनको ठूलो क्षति भएको छ।