काठमाडौं। बिहीबार बिहानैदेखि नेपाली सेनाको टोलीले हेलिकोप्टरबाट बाढीग्रस्त क्षेत्रमा खोज तथा उद्धारको काम थालेको छ। त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि खोजी र उद्धारको काम गरिरहेका छन्।
खोजीसँगै घरबारविहीन भएका पीडितको संख्या ठूलो रहेको प्रारम्भिक रिपोर्टहरूले देखाएको छ। उनीहरूसम्म हाल खाना, लत्ताकपडा र औषधि पुर्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ।
राहतका लागि नेपाली सेनाले ट्रकबाट नुवाकोटको त्रिशूलीसम्म सामान ढुवानी गरेको छ। त्यसपछि हेलिकप्टरबाट नै विभिन्न पालिकाहरूमा सामाग्री पुर्याइँदैछ।
सेनाका ११ ट्रकले त्रिशूलीमा राहत सामाग्री ढुवानी गरेको छ। त्यसपछि आवश्यकता अनुसार प्रभावित स्थानहरूमा राहत पुर्याउने कार्य भइरहेको छ।
हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको छ। राहत सामाग्रीमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट पठाइएको छ। साथै, मेडिकल टिम थप गरी त्रिशूलीमा घाइतेहरूको उपचार भइरहेको सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए।

त्यस्तै, सशस्त्र प्रहरीले पनि राहत सामाग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको छ। सशस्त्रका अनुसार रसुवा गुल्ममा दुईवटा कन्टेनरमा २०० जनालाई पुग्ने सामाग्री रहेको छ। अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरेर ७ हजार ४५१ जनाको टोली परिचालन गरिएको छ।
विपद्पछि नुवाकोट र रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ। यसले गर्दा संचार सेवामा पनि असर परेका छ।
सशस्त्र प्रहरीले काठमाडौंबाट ४ वटा जेनरेटर र इन्धन समेत रसुवा पुर्याएको छ। त्यस्तै, संचार सेटहरू पनि पठाउने काम भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणका उपसचिव रामबहादुर केसीले अहिले खोजी तथा उद्धार र राहत वितरणलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताए। सबै ठाउँमा सुरक्षाकर्मी पुग्न नसक्ने र जानकारी नभएको ठाउँमा जानकारी दिन पनि उनले आग्रह गरेका छन्।
‘कुनै ठाउँमा उद्धार र राहत नपुगेको भए जानकारी मागेका छौं। केही निवेदन र जानकारी पनि आएका छन्,’ उपसचिव केसीले भने।
सेना र निजी क्षेत्रका दर्जन बढी हेलिकप्टरबाट उद्धार र खोजी गरिँदै छ। नेपाली सेनाले नुवाकोटमा बेस बनाएर हेली उडान गरिरहेको छ।
बिहान साढे १० बजेसम्म ३७ वटा हवाई उडान गरिएको थियो। जसमा ३०५ जनाको उद्धार गरिएको छ।
स्थल मार्गबाट पनि ६३ जनाको उद्धार गरिएको छ। अहिलेसम्म २७५ भन्दा बढी हवाई उडान भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
हवाई इन्धन अभाव हुन नदिन काठमाडौंबाट नुवाकोटमा थप ९ हजार लिटर इन्धन पठाइएको गृह मन्त्रालयले जनाएको छ। नुवाकोटमा ८ हजार लिटर इन्धन स्टक छ।
त्यस्तै, नुवाकोटका तीनवटा आयल स्टोरमा थप १५ हजार डिजेल र पेट्रोल समेत स्टकका लागि पठाइएको छ। त्यहाँ यसअघि २३ हजार लिटर पेट्रोल र ६ हजार लिटर डिजेल मौज्दात रहेको थियो।

अहिलेसम्म ८२६ जना भन्दा बढी मानिस सम्पर्कविहीन भएको जानकारी आएको छ। हेलिकप्टर र स्थल मार्गबाट सम्भव नभएको ठाउँमा प्राविधिक पक्षको प्रयोग गरेर पनि खोजी भइरहेको छ।
सेना, प्रहरी र सशस्त्रले ड्रोनको प्रयोग गरेर खोजी गरिरहेका छन्। ६ वटा ड्रोनबाट सर्च गर्दा १२ वटा शव लाकेट भएर उद्धारको काम भइरहेको छ।
नेपाली प्रहरीको तालिम प्राप्त कुकुर पनि शव पहिचानको लागि परिचालन गरिएको छ। जसमा एसएसपीको कमान्डमा तालिम प्राप्त कुकुर खटाइएको छ। सशस्त्र प्रहरीले पनि टोलीसहित ३ वटा कुकुर परिचालन गरेको छ।
नेपाल प्रहरीले उद्धार, राहत, सूचना संकलन लगायत कामको लागि एआइजीदेखि डीएसपीसम्म कार्य विभाजन गरेर फिल्डमा खटाएको छ।