काठमाडौं । नेपाल-चीन सीमाक्षेत्र नजिकै भीषण हिमपहिरो र भूकम्पका कारण भोटेकोसीमा आकस्मिक बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार भदौ १० गते बिहान नेपाल-चीन सीमाबाट तीव्र बहाव र गेग्रानसहितको बाढी भोटेकोसी नदीमा प्रवेश गरेको थियो।
बिहान दुईवटा भूकम्प र त्यसपछि बिहान ८:४० बजे भोटेकोसीको जलसतह १.६२ मिटर मापन गरिएको थियो। त्यसपछि जलमापन केन्द्र बाढीले बगाएको देखिएको प्राधिकरणले जनाएको छ।
बाढीको टाइमलाइन
| समय (भदौ १०) | स्थान / केन्द्र | विवरण तथा जलसतहको अवस्था |
| बिहान ८:२० | रसुवागढी सीमा क्षेत्र | २.६ रेक्टर स्केलको भूकम्प/पराकम्प मापन |
| बिहान ८:३७ | रसुवागढी सीमा क्षेत्र | ४.४ रेक्टर स्केलको दोस्रो भूकम्प/पराकम्प मापन |
| बिहान ८:४० | भोटेकोसी रसुवागढी (सीमाबाट १ कि.मी. तल) | जलसतह १.६२ मिटर मापन; त्यसपछि जलमापन केन्द्र बाढीले बगाएको |
| बिहान ८:५० | स्याफ्रुबेसी (सीमाबाट ९ कि.मी. तल) | जलसतह ३.८ मिटर मापन; त्यसपछि जलमापन केन्द्र बाढीले बगाएको |
| बिहान ९:१५ | तटीय क्षेत्रहरू | महाशाखाद्वारा उच्च सतर्कता अपनाउन पूर्वसूचना तथा टेलिकम/एनसेलबाट SMS प्रेषित |
| बिहान ९:२० | बेत्रावती, नुवाकोट (सीमाबाट ३६ कि.मी. तल) | अन्तिम पटक जलसतह ३.५५ मिटर मापन (सतर्कता तह: ४.१ मि., खतरा तह: ५.५ मि.) |
| बिहान ११:२० | फुर्के (मलेखु) | जलसतहले सतर्कता तह (७ मिटर) पार गरेको |
| बिहान ११:४० | फुर्के (मलेखु) | जलसतहले खतरा तह (८ मिटर) पार गर्दै उच्चतम १०.४८ मिटर पुगेपछि केन्द्र बगाएको |
| दिउँसो २:१४ | कालीखोला (मुग्लिन नजिक) | जलसतहले खतरा तह (१२.१ मिटर) पार गरी उच्चतम १२.३५ मिटर मापन |
| दिउँसो २:२० | देवघाट जलमापन केन्द्र | बाढी देवघाट क्षेत्रमा आइपुगेको |
| साँझ ४:०० | देवघाट जलमापन केन्द्र | जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको |
उक्त बाढीको बहाव क्रमशः भोटेकोसी, त्रिशूली, मलेखु र मुग्लिन हुँदै नारायणी-देवघाट क्षेत्रसम्म पुगेको थियो।
जोखिमलाई मध्यनजर गर्दै महाशाखाले नेपाल टेलिकम र एनसेलको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका नदी तटीय क्षेत्रमा रहेका करिब ६ लाख ७९ हजार २५५ नागरिकलाई सुरक्षित स्थानमा जान सूचना पनि पठाएको जनाइएको छ।
देवघाट जलमापन केन्द्रमा भदौ १० गते दिउँसो २:१० देखि साँझ ८ बजेसम्ममा करिब २ करोड घनमिटर थप बाढीजन्य पानी बगेको प्रारम्भिक आँकलन गरिएको छ।