BIZMANDU
www.bizmandu.com

बाढी प्रभावित नुवाकोटका विभिन्न ठाउँमा वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति

२०८३ भदौ ११

बाढी प्रभावित नुवाकोटका विभिन्न ठाउँमा वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति
बाढी प्रभावित नुवाकोटका विभिन्न ठाउँमा वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बिजुली आपूर्ति गरेको छ।

Vigo
GBIME
Tata

खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली-देवीघाट ६६ केभी लाइन तथा ११ केभीमा चार्ज गर्ने र बालाजु-त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ।

आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइन पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको ढकाललाई उद्यृत गर्दै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङस्थित सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ।

विद्युत् सेवा यथाशीघ्र नियमित बनाउन प्राधिकरणले काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितको टोली परिचालन गरेको छ। टोलीले प्रभावित विद्युत् संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ।

मन्त्री श्रेष्ठको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा खटिएको छ।

टोलीमा प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता ढकाल लगायत छन्।