BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेलको १ करोड सहयोग

२०८३ भदौ ११

भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेलको १ करोड सहयोग
भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेलको १ करोड सहयोग


काठमाडौं। भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले प्रभावित क्षेत्रमा सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई बुधबारदेखि लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस ३ दिनका लागि निःशुल्क उपलब्ध गराइएको छ।

यस पहलले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीहरूसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन्, ‘विपद्को कठिन घडीमा प्रभावित जनताको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो। उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने उद्देश्यले १ करोड सहयोग गर्ने निर्णय गरेका हौं। यस विषम परिस्थितिमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौं।’

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सघाउन सरकारले सहयोग आह्वान गरेको थियो।

एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।