काठमाडौं। नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज राति पनि जारी राख्ने भएको छ।
बाढीबाट प्रभावितहरूको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेकाले सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको हो।
राति ११-एक्स टिमबाट जमिनबाटै उद्धार जारी रहने छ। साथै बिहीबार बिहान टिमुरेमाथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गर्ने तयारी छ। साथै विभिन्न टनेलमा अड्किएका व्यक्तिहरूको उद्धारको प्रयास पनि जारी रहने छ।
सेनाले उद्धारका लागि थप समन्वय साथ हवाई साधनहरूको परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रहरूबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग, जमिनमा थप फौज तैनाथ साथ विस्तृतमा खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्थाहरू तथा नागरिकसँगको समन्वयमा उद्धार जारी राख्नेछ।
बुधबार दिनभर उद्धारका लागि एक हजार ६९७ जनशक्ति परिचालन गरिएको थियो। थप ६५६ जनाको फौज तयारी अवस्थामा राखिएको छ।
सेनाका अनुसार बधुबार दिनभर उद्धार, खोज तथा राहतका कार्यक्रममा ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार तथा ५ वटा निजी क्षेत्रका हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको छ। जमिनबाट २७ जनाको उद्धार गरिएको छ।
८०० केजी टेन्ट, २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्याएको सेनाले जनाएको छ। उद्धारका लागि खटिएका हेलिकप्टरहरुबाट खाना तथा पानी उपलब्ध समेत गराइएको थियो।