BIZMANDU
www.bizmandu.com

रसुवाका टिमुरे र बेत्रावती बजार बगरमा परिणत, १००० भन्दा बढी मानिस सम्पर्कविहीन


रसुवाका टिमुरे र बेत्रावती बजार बगरमा परिणत, १००० भन्दा बढी मानिस सम्पर्कविहीन
रसुवाका टिमुरे र बेत्रावती बजार बगरमा परिणत, १००० भन्दा बढी मानिस सम्पर्कविहीन


काठमाडौं। चीनबाट अकस्मात आएको बाढीका कारण रसुवा र नुवाकोटमा करिब ५०० घर क्षतविक्षत भएका छन्।

Vigo
GBIME
Tata

घर क्षतविक्षत हुँदा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ। स्थानीय जनप्रतिनिधिले एक हजारभन्दा बढी सम्पर्कविहीन रहेको बताएका छन्।

रसुवाको टिमरे क्षेत्र बगरमा परिणत भएको छ। टिमुरेमा करिब १५० निजी घर थिए। अहिले एउटा पनि सग्लो छैनन्। ‘टिमुरेमा निजी घरदेखि कार्यालय केही पनि बाँकी छैन। टिमुरे बगरमा परिणत भएको छ,’ रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङले भने।

टिमुरे गोसाइँकुण्ड गाउँपालिका-२ मा पर्छ। त्यहाँका वडाध्यक्ष कामीछिरिङ तामाङ र गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङसँग फोन सम्पर्क हुन सकेन। उपाध्यक्ष प्रतिमा तामाङको फोन नलागेपछि हामीले बाढीको वितण्डाबारे जानकारी लिन उर्केनलाई सम्पर्क गरेका थियौं।

उनका अनुसार टिमुरेमा बाढीमा पर्ने स्थानीयको संख्या करिब ३०० हाराहारी छ। ‘टिमरेका केही स्थानीयले भागेर ज्यान जोगाएका छन्। तर धेरैजसो भाग्न नसकेको जानकारी आएको छ। भाग्न सफल भएकाहरुका अनुसार स्थानीयका साथै विभिन्न कार्यालयका कर्मचारी र पर्यटकहरु पनि बाढीमा परेका छन्,’ वडाध्यक्ष उर्केनले भने।

कतिपय स्थानीयले चीनतर्फ र कतिपयले जंगलतिर भागेर ज्यान जोगाएका छन्।

टिमुरे भन्सार कार्यालयमा रहेका ४० कर्मचारीमध्ये १४ जना सम्पर्कविहीन छन्। यस्तै विभिन्न ९ बैंकका २६ कर्मचारी पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। नेपाल पर्यटन बोर्डले २९१ विदेशी सहित ३८४ पर्यटक सम्पर्कविहीन रहेको बताएको छ। विदेशी पर्यटकमध्ये १०० भन्दा बढी भारतीय हुन्।

यसबाहेक टिमुरे सुक्खा बन्दरगाहमा ६० भन्दा बढी स्थानीयले काम गर्ने गरेका थिए। उर्केनमा अनुसार ती स्थानीय पनि अहिलेसम्म सम्पर्कमा छैनन्।

सरकारले बाढीमा परी ४४ जना सेना, २६ जना प्रहरी र ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको बताएको छ। यसबाहेक विभिन्न जलविद्युत आयोजनाका कर्मचारी पनि सम्पर्कविहीन छन्।

बाढीले स्याफ्रुबेसी क्षेत्रमा पनि वितण्डा मच्चाएको छ। त्यहाँका करिब ३०० घरमध्ये ६० प्रतिशत बाढीले क्षतिग्रस्त बनाएको छ। गाउँपालिका भवन र प्रहरी चौकी पनि बाँकी छैन। स्याफ्रुबेसी गोसाइकुण्ड गाउँपालिका-५ मा पर्छ। यो वडाका अध्यक्ष दावा मिङ्मर तामाङको फोन स्विच अफ छ। वडा १ का अध्यक्ष उर्केनले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसँगै दावा पनि सम्पर्कविहीन रहेको जानकारी दिए।

‘स्याफ्रुबेसीमा ६० प्रतिशत घरका साथै पालिका भवन र प्रहरी चौकीको नामो निसान छैन। यो क्षेत्रका पनि ३०० भन्दा बढी स्थानीय सम्पर्कबिहीन रहेको जानकारि पाएको छु,’ वडाध्यक्ष उर्केनले भने। स्याफ्रुबेसी क्षेत्रमा बाढीका कारण घाइते भएका कतिपयलाई सुरक्षाकर्मीले हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएका छन्।

रसुवाको अर्को स्थानीय तह उत्तरगया गाउँपालिका अन्तर्गत पर्ने बेत्रावती बजारमा १०० भन्दा बढी घर बाढीले बगाएको छ। गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले बेत्रावती बजार बगरमा परिणत भएको जानकारी दिंदै मानवीय हताहतीको खबर भने नपाएको बताइन्।

‘सबै ध्वस्त छ। बजारमा नुवाकोट र रसुवातर्फ गरी १०० भन्दा बढी घर थिए। अहिले एउटै छन्। बगर बनेको छ। तर अहिलेसम्म मानिसको ज्यान गएको खबर आएको छैन,’ उनले भनिन्, ‘गाउँपालिकाका दुबै भवन बाढीले बगायो। गाउँपालिकाका ६ जना कर्मचारीसँग सम्पर्कमा हुन सकेको छैन।’

उपाध्यक्ष चमेलीका अनुसार बाढीले जलविद्युत आयोजना बन्द भएका कारण बिजुली अभावमा फोन चार्ज नहुँदा पनि फोन सम्पर्क टुटेको छ। बाढीले उत्तरगयामा ४ वटा पक्की पुल बगाएको छ।

बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले विभिन्न वडाका ५० भन्दा बढी घर क्षतिग्रस्त भएको जानकारी दिइन्।

‘वडा १ को ढुंगे र त्रिशुलीबजार, वडा ४ को सिमचौर, वडा ६ को सिंचाई, ५ को देवीघाट, ७ को सोलेबजार र सिपीटार तथा वडा १० को बेत्रावती र भैंसे बजारमा क्षति भएको छ,’ बोगटीले भनिन्, ‘सडक सम्पर्क छैन। घरहरुमा बाढी पसेको छ। ५० भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। आकाशमा हेलिकप्टर उडिरहेको छ। छतको मानिसहरु उद्धारको पर्खाइमा छन्। नगरपालिका क्षेत्रमा पर्ने ६ वटा पक्की पुल बाढीले बगाएको छ। कतिजना घाइते भए र कति कस्तो अवस्थामा छन् भन्ने डाटा आइसकेको छैन।’

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइँका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हेलिकोप्टरमार्फत उद्धार कार्य जारी राखेको छ। ‘सुरक्षाकर्मीको टोलीले उद्धार कार्य जारी राखेको छ। तर भौतिक र मानवीय क्षतिको विवरण संकलनमा बिजुली नभएका कारण समस्या भइरहेको छ,’ हुमागाइँले भने।

गल्छी गाउँपालिका धादिङका अध्यक्ष र उपाध्यक्षको फोन अफ। बैरेनी वडा ६ का वडाध्यक्ष दीपक कार्कीको फोन लागेन।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूली नदीमा आएको बाढीले जिल्ला सदरमुकाम जोड्ने फुर्के खोलासहितका ३ वटा मोटरेबल पुल बगाएको तर अरु क्षतिबारे विवरण आउन बाँकी रहेको बताए।

पृथ्वी राजमार्गसँग जिल्ला सदरमुकामाको सम्पर्क बिच्छेद बनाएको छ। ‘बाढीले विभिन्न ठाउँमा पुल बगाएको छ। बैरेनीमा सडक अवरुद्ध छ। अरु क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ,’ प्रजिअ गौतमले भनिन्।

नेपाल प्रहरीले पनि क्षतिको विवरण यकिन भइनसकेको बताएको छ। ‘रसुवा र नुवाकोटमा रहेका स्थानीय प्रहरी कार्यालय बाढीले बगाएको अवस्था छ। प्रहरीसमेत सम्पर्कबिहीन हुँदा विवरण संकलनमा समस्या परेको छ,’ नेपाल प्रहरीका डीआइजी अविनारायण काफ्लेले भने।