BIZMANDU
www.bizmandu.com

बाढीका कारण ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, भारत र चीनले राहतका लागि सहयोग गर्ने

२०८३ भदौ १०

बाढीका कारण ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, भारत र चीनले राहतका लागि सहयोग गर्ने
परराष्ट्रमन्त्री खनाल जवाफ दिनुहुँदै काठमाडौं, १० भदौः परराष्ट्रमन्त्री शिशिर खनाल सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पछिल्लो घटनाक्रम तथा विभिन्न विषयमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस


काठमाडौं। रसुवामा चीनबाट अकस्मात आएको बाढीका कारण ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।

Vigo
GBIME
Tata

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार बाढीमा परी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ७९ जना सम्पर्कविहीन भएका हुन्।

उनले बुधबार बाढीबारे प्रतिनिधि सभाको बैठकमा जानकारी गराउने क्रममा नेपाल प्रहरीतर्फ टिमुरे लगायत प्रहरी चौकीमा कार्यरत २६ जना, सशस्त्र प्रहरीतर्फ ९ जना र नेपाली सेनातर्फ ४४ जना सम्पर्कविहीन भएको बताए।

‘नेपाल सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा गरी ४४ जना सम्पर्कविहीन रहेको अवस्था छ,’ उनले भने।

मन्त्री खनालले बाढीमा परी कति हुने मानिसको संख्या यकिन भइनसकेको बताए। उनका अनुसार हालसम्म ९ जनाको शव भेटिएको छ।

रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका ठाउँमा केही कर्मचारीहरूसमेत हालसम्म सम्पर्कमा नरहेको खनालको भनाइ छ।

‘प्रभावित क्षेत्रका केही नागरिक सम्पर्क बाहिर हुनुहुन्छ। प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको र सनाखत हुन बाँकी रहेको अवस्था छ,’ उनले भने।

उनले पृथ्वी राजमार्गको गल्छी-नुवाकोट-रसुवाको स्याफ्रुबेसी सडक तथा मुग्लिन-नारायणघाट सडकमा तत्काल यात्रा नगराउन स्थानीय तह र प्रशासन सर्कुलर गरेको जानकारी दिए।

१३ हेलिकप्टर परिचालन

सरकारले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका गरी १३ वटा हेलिकप्टर परिचालन गरेको छ।

सरकारले उद्धार गरिएका घाइतेको लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेनाका १५, नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरी बलका १५ जना थप चिकित्सकसहितको स्वास्थ्य टोली पठाएको छ।

‘गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत ५ वटा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ,’ खनालले भने।

उनले सरकारको सम्पूर्ण ध्यान प्रभावितको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको बताए। उनका अनुसार भारत र चीनले राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।