काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीको बाढीमा परेका आठ वटा शव प्रहरीले फेला पारेको छ। नुवाकोट र धादिङबाट ८ वटा शव प्रहरीले फेला पारेको बाग्मती प्रदेश प्रहरी कार्यालयका डीआइजी दीपक रेग्मीले बताए।
‘८ वटा शव भेटिएको छ। कतिपय ठाउँमा प्रहरी जान सक्ने अवस्था छैन,’ उनले भने। नुवाकोटमा ४ वटा र धादिङबाट ४ वटा शव भेटिएको हो।
भोटेकोसी नदी रसुवामा तिब्बततर्फबाट ठुलो बाढी आएको थियो। अहिले बाढी चितवनको मुग्लिङ कटेको छ। धादिङ र पृथ्वी राजमार्ग जोड्ने ३ वटा पुल समेत बगाएको छ। झोलुङे पुल कति बगायो भन्ने रेकर्ड नभएको प्रहरीले जानकारी दिइएको छ। बाढीसँगै पृथ्वीराज मार्गमा सवारी साधन रोकिएको छ।
‘सडक अहिलेसम्म कटान गरेको भन्ने बुझिएको छैन। तर केही ठाउँमा डुबान भएको छ। प्रहरी जान सक्ने अवस्था छैन,’ डीआइजी रेग्मीले भने।
त्यस्तै बाढीका कारण अझै २३ जना भन्दा बढी प्रहरी सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी भइरहेको छ। घाइतेहरूको उपचारको लागि नेपाल एपीएफ अस्पतालमा १ सय बेड र स्वास्थ्यकर्मीको टोली तयारी हालतमा राखिएको छ।